काठमाडौं।शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच नेपाल–अमेरिका शैक्षिक सहकार्य तथा खेल कूटनीतिका विषयमा छलफल भएको छ ।
शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीच लामो समयदेखि हुँदै आएको शैक्षिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको हो ।
भेटमा मन्त्री पोखरेलले नेपालको आधारभूत शिक्षा सुधार तथा जनशक्ति विकासमा अमेरिकी सहयोगले महत्वपूर्ण योगदान पुर्याएको भन्दै धन्यवाद व्यक्त गरे । उनले विद्यार्थी, शिक्षक तथा विश्वविद्यालयका प्राध्यापकबीच आदानप्रदान कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
यस्तै, फुलब्राइट छात्रवृत्तिलगायत विभिन्न शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो ।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने बताइन् ।
त्यसैगरी, सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक तथा प्याराओलम्पिकलाई लक्षित गर्दै नेपाली खेलाडी र प्रशिक्षकको तालिम, खेलाडी विकास तथा खेल व्यवस्थापनमा सहयोग गर्ने सम्भावनाबारे छलफल भएको छ ।
दुवै पक्षले शिक्षा तथा खेलकुदका क्षेत्रमा आपसी सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







