EN
मेनु
Flash News

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता

काठमाडौं ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन् ।

अस्पतालको सरसफाइ सुधार, बिरामीलाई सहज रूपमा शय्या उपलब्ध गराउने, उपचारका लागि कुर्नुपर्ने समय घटाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग सम्झौता गरेकी हुन् ।

सम्झौतामा बिरामीलाई समयमै शय्या उपलब्ध गराउने, उपचारमा हुने ढिलाइ न्यूनीकरण गर्ने र स्वास्थ्यकर्मीको व्यवहारलाई सेवामैत्री, जिम्मेवार तथा उत्तरदायी बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी, स्वास्थ्य संस्थामा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत सम्झौतामा समेटिएको छ ।

यसैबीच, मन्त्रालयका सचिव डा. विकास देवकोटाले १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग पनि आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

कार्यसम्पादन सम्झौतामार्फत अस्पताल तथा प्रतिष्ठानको सेवा व्यवस्थापन सुधार गरी बिरामीलाई गुणस्तरीय, सहज र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।