काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शुक्रबार सम्पन्न साधारण सभाले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्नेछ।
दुई दशकको यात्रामा शेयरधनी र ग्राहकको योगदान महत्वपूर्ण : ढकाल
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकप्रति शेयरधनीको निरन्तर विश्वास र साथप्रति आभार व्यक्त गरे।
उनले ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूको सहयोगका कारण बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीति–निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई सुरक्षित, भरपर्दो र सन्तुलित ढंगले विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
ग्राहकलाई थप सहज र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा लगानी विस्तार गर्ने जानकारीसमेत अध्यक्ष ढकालले दिए।
लेखापरीक्षक नियुक्तिदेखि प्रबन्धपत्र संशोधनसम्मका प्रस्ताव पारित
साधारण सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन भएको छ।
सभामा नियमनकारी निकायका प्रतिनिधि, शेयरधनी, संस्थागत लगानीकर्ता तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।
७७ जिल्लामा शाखा सञ्जाल
ग्लोबल आइएमई बैंकका अनुसार बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो।
हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीनवटा प्रतिनिधि कार्यालय सञ्चालनमा छन्। बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।
बाढी प्रभावितका लागि ५ करोड ७५ लाख रुपैयाँभन्दा बढी सहयोग
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई राहत तथा उद्धारका लागि ग्लोबल आइएमई बैंकले ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ सहयोग गरेको छ।
बैंकका अनुसार उक्त रकम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोग तथा बैंकका कर्मचारीको एक दिनको तलब बराबरको रकम समेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान
बैंकले आधुनिक प्रविधि तथा ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ।
त्यस्तै, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयरलगायतका सम्मान पनि बैंकले प्राप्त गरेको जनाएको छ।



