पाइलटबीच विवादपछि दुबई–तेल अभिभ उडान साउदीतर्फ डाइभर्ट
काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको यात्रुवाहक विमान अचानक मार्ग परिवर्तन गर्दै साउदी अरेबियातर्फ डाइभर्ट भएको छ। विमानमा करिब १०० जना इजरायली यात्रु रहेको बताइएको छ।
विमानको मार्ग परिवर्तन भएपछि सुरुमा सम्भावित अपहरणको आशंका गरिएको थियो। तर, इजरायली सुरक्षा निकायहरूले घटनामा कुनै सुरक्षा खतरा वा अपहरणको संकेत नरहेको निष्कर्ष निकालेका छन्।
इजरायली सञ्चारमाध्यमका अनुसार विमानका दुई पाइलटबीच विवाद भएपछि सम्भवतः गल्तीवश आपतकालीन बटन थिचिएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको र अहिलेसम्म अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।
सीएनएनका अनुसार फ्लाइट ट्र्याकिङ डेटामा विमान उत्तरपश्चिमी साउदी अरेबियाको आकाशमा पुगेपछि छोटो समयमै करिब ३४ हजार फिटबाट १६ हजार ६ सय फिटसम्म तल झरेको देखिएको थियो। त्यसपछि विमानबाट आपतकालीन संकेत प्रसारण भएको जनाइएको छ।
घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ताले विमान अपहरणमा परेको नरहेको बताएका छन्। प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्रीबीच भएको सुरक्षा छलफलसमेत सम्पन्न भएको र घटना सुरक्षा खतरासँग सम्बन्धित नरहेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्।
यद्यपि, विमान कहाँ अवतरण भयो र त्यसपछि कहाँ फर्कियो भन्ने विषयमा इजरायली सञ्चारमाध्यममा फरक–फरक विवरण आएका छन्। ‘वाल्ला’को रिपोर्टअनुसार अधिकारीहरूले घटना सुरक्षा वा प्राविधिक समस्यासँग सम्बन्धित हो कि भन्नेबारे जाँच गरिरहेका बेला विमान दुबईतर्फ फर्किएको बताइएको छ।
घटनापछि यात्रु तथा चालक दलको अवस्थाबारे कुनै गम्भीर क्षतिको विवरण सार्वजनिक भएको छैन। विमानको मार्ग परिवर्तनको यकिन कारणबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ।



