काठमाडौं।बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण असोज ८ देखि ११ गतेसम्म भएको भारी तथा अति भारी वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाजन्य विपद्मा परी ५ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन्।विपद्का कारण देशभरका ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

विपद् प्रतिकार्यका लागि सरकारी संयन्त्रहरू परिचालन गरिएको प्राधिकरणले जनाएको छ । बाढी तथा पहिरोको उच्च जोखिममा रहेका प्रभावित जिल्लाबाट करिब २ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उद्धार गरिएका नागरिकका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा आवश्यक राहत तथा बन्दोबस्तीको व्यवस्था मिलाइएको जनाइएको छ ।
जाजरकोट, म्याग्दी र बागलुङलगायतका जिल्लामा नेपाली सेना तथा अन्य सुरक्षा निकायका हेलिकोप्टर परिचालन गरी बाढी–पहिरोमा फसेका नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले दैनिक तीन पटक मौसमसम्बन्धी अद्यावधिक सूचना तथा सतर्कता सन्देश जारी गरेको थियो । प्राधिकरणको सिचुएसन रूमबाट असोज ८ गते बिहान ९ बजेदेखि असोज ११ गते दिउँसो १ बजेसम्म लगातार ७६ घण्टा मौसम अनुगमन, समन्वय तथा सूचना सम्प्रेषण गरिएको थियो ।
यस अवधिमा अग्रपंक्तिमा खटिएका उद्धारकर्मीहरूलाई ५ हजारभन्दा बढी तथा जोखिम क्षेत्रमा रहेका नागरिकलाई जल तथा मौसम विज्ञान विभागमार्फत ८ लाख १४ हजारभन्दा बढी सतर्कता सम्बन्धी एसएमएस पठाइएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, देशका विभिन्न क्षेत्रमा रहेका करिब ९ हजार विदेशी पर्यटक तथा पदयात्रीको सुरक्षालाई ध्यानमा राख्दै अङ्ग्रेजी भाषामा समेत सतर्कता सूचना जारी गरिएको थियो । जोखिमयुक्त सडकखण्डमा सवारी आवागमन रोक्न निर्देशन दिनुका साथै प्रभावित जिल्लामा विद्यालयसमेत बन्द गरिएको थियो ।
प्राधिकरणका अनुसार चार दिनको अवधिमा देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ ।
सबैभन्दा धेरै वर्षा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डेडगाउँमा ५४४.२ मिलिमिटर मापन गरिएको छ । त्यस्तै, कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।
लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोले विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनाएको छ भने उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई सम्बन्धित निकायले निरन्तरता दिएका छन् ।



