काठमाडौं।सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरी नियन्त्रणमा परेका छन्। उनलाई काठमाडौंको महाराजगन्ज स्थित आफ्नै निजी निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरी टोलीले जबरालाई नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विषय र प्रकृतिबारे प्रहरीले अहिलेसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन।
न्यायालयको नेतृत्वमा रहँदा तत्कालीन मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, बिचौलियालाई प्रश्रय दिएको तथा न्यायिक विचलन ल्याएको लगायतका आरोप लागेपछि जबरा लामो समय विवादमा तानिएका थिए। उनका गतिविधिलाई लिएर नेपाल बार एशोसिएसन तथा कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमै लामो समय आन्दोलन र धर्ना गरेका थिए।
२०७५ पुस १८ गते नेपालको २९औँ प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते तत्कालीन सत्तागठबन्धनका ९८ जना सांसदले संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट निलम्बित भएका थिए।
महाभियोग सिफारिससम्बन्धी छानबिन समितिले प्रतिवेदन संसद्मा पेस गरे पनि त्यसलाई संसद्बाट अन्तिम रूपमा टुंगो लगाउन नसकिएको अवस्थामा जबरा निलम्बित अवस्थामै रहे। पछि सर्वोच्च अदालत फर्किने उनको प्रयाससमेत सफल हुन सकेन।
उमेर हदका कारण जबरा २०७९ मंसिर २८ गते (१४ डिसेम्बर २०२२) अनिवार्य अवकाशमा गएका थिए।
यसअघि पनि जबराविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धानका लागि उजुरी परेको सार्वजनिक भएको थियो। अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई कुन मुद्दा वा उजुरीका आधारमा नियन्त्रणमा लिएको हो भन्ने विषय भने स्पष्ट भइसकेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।


