द ग्रे जोन रिपोर्टबारे सरकारले स्पष्ट जवाफ दिनुपर्छ : भट्टराई
काठमाडौं।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन् । नयाँ व्यक्तिहरू सरकारमा आएकाले राज्य सञ्चालनको अनुभव हासिल गर्न समय लाग्ने भन्दै उनले कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताएका हुन्।

![]()
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा भट्टराईले राज्य सञ्चालन किताब पढेर मात्र सिक्न नसकिने बताए । व्यवहारबाट सिक्ने विषय भएकाले नयाँ पुस्ताले पुरानाबाट अनुभव लिनुपर्ने र पुरानाले पनि नयाँलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
“राज्य सञ्चालन गर्ने कुरा किताब पढेर मात्रै पनि नहुने रहेछ । व्यवहारमा सिक्ने र जान्ने कुरा पनि हो । त्यसैले सिक्ने कुरा समयको माग पनि हो,” भट्टराईले भने।
![]()
![]()
उनले सरकारका कमीकमजोरीलाई लिएर अहिले नै ‘बर्बाद भयो, सिद्धियो’ भन्ने शैलीमा आलोचना गर्नु उचित नहुने बताए । तर सरकार र सदनमा रहेका व्यक्तिहरूले सिक्ने क्रममा विनम्रता देखाउनुपर्नेमा उनले जोड दिए ।
“मैले सबै जानेको छु, कसैसँग सिक्न जरुरी छैन, हामी त सिकाउन आएका हौँ भनेजस्तो गरेर हुँदैन । सिक्ने कुरा कहिल्यै सकिँदैन,” उनले भने ।
भट्टराईले भएका गल्तीलाई सच्याउन सुझाव दिनु सकारात्मक भए पनि इख राखेर खुट्टा तान्ने वा पछार्ने प्रवृत्ति उचित नहुने बताए । नयाँ र पुराना पुस्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “पुरानाले नयाँलाई सहयोग गर्ने, नयाँ पनि विनम्र बनेर सिक्दै अगाडि बढ्ने—यो नै अबको बाटो हो ।

‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले स्पष्ट जवाफ दिनुपर्छ
प्रधानमन्त्री बालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गर्दै अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले प्रकाशित गरेको खोजमूलक रिपोर्टबारे पनि भट्टराईले सरकारलाई स्पष्ट पार्न सुझाव दिएका छन् ।
उनले सत्तामा रहेका व्यक्तिहरूले आरोप तथा प्रचारको वास्तविकता के हो भन्नेबारे जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए ।

“लोकतन्त्रमा कसैले आरोप लगाइसकेपछि त्यो के हो भन्ने कुराको सत्तामा हुनेहरूले चित्तबुझ्दो ढङ्गले जवाफ दिनुपर्छ । ‘यति हो, यति होइन’ अथवा ‘यो पूरै होइन’ भनेर उहाँहरू बोल्नुपर्छ,” उनले भने ।
भट्टराईले सबै राजनीतिक परिवर्तन र घटनालाई विदेशी शक्तिसँग जोडेर हेर्ने प्रवृत्ति गलत भएको बताए । यद्यपि, नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील मुलुकमा ठूला शक्तिहरूको चासो नहुने भनेर पनि भन्न नसकिने उनको धारणा छ ।
भारत र चीनजस्ता ठूला छिमेकी तथा अमेरिकाको समेत चासो रहेको नेपालमा बाह्य शक्तिहरूको प्रभाव र गतिविधिबारे तथ्यपरक ढङ्गले बुझ्नुपर्ने उनले बताए । तर हरेक परिवर्तनलाई विदेशी षड्यन्त्रको परिणामका रूपमा व्याख्या गर्ने प्रवृत्ति गलत हुने उनको भनाइ छ ।
बालेनको काम गर्ने शैली सकारात्मक, तर संसद्प्रति उत्तरदायी हुनुपर्छ
पूर्वप्रधानमन्त्री भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को काम गर्ने शैली केही हदसम्म परिणाममुखी रहेको बताएका छन् ।
बाहिरी प्रचारभन्दा काम गरेर परिणाम देखाउने शैली सकारात्मक रहेको उल्लेख गर्दै उनले बालेनको कार्यशैलीप्रति आफ्नो धारणा राखे ।
“बालेनजीको शैली अलिकति परिणाममुखी, ‘केही काम गरेर देखाऊँ’ भनेजस्तो म बुझ्छु । बाहिर देखिने, कार्यक्रममा सहभागी हुनेभन्दा पनि भित्री रूपमै काम गर्ने, परिणाम देखाउने ढङ्गले काम गरेजस्तो मलाई लाग्छ,” उनले भने ।
यद्यपि, बालेन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा रहे पनि हालको संवैधानिक व्यवस्थाअनुसार संसद्प्रति उत्तरदायी हुनुपर्ने भट्टराईले स्पष्ट पारे ।
नेपालमा अहिले संसद्ले प्रधानमन्त्री चयन गर्ने व्यवस्था रहेकाले सोहीअनुसार संसद्मा उपस्थित भएर उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
“उहाँ पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षकै मान्छे हो । तर यतिबेला हामी त्यस्तो प्रणालीमा गइसकेका छैनौँ । संविधानबमोजिम संसद्ले नेता चुनेर प्रधानमन्त्री बन्ने प्रणाली हामीसँग छ । त्यसैले संसद्प्रति नै उत्तरदायी हुनुपर्छ,” भट्टराईले भने ।
बालेनमा संसद्मा उपस्थित हुने विषयमा केही अनिच्छा देखिएको भन्दै उनले त्यसो गर्न नहुने बताए । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा गएपछि मात्रै त्यस्तो व्यवस्था उपयुक्त हुने उनको भनाइ छ ।
भट्टराईले बालेनको अनावश्यक भेटघाट र बाहिरी गफभन्दा चुपचाप काम गरेर परिणाम देखाउने शैली भने सकारात्मक रहेको दोहोर्याए ।












