ब्रिक्स शिखर सम्मेलन आजदेखि, १० वर्षपछि मोदी, पुटिन र सी एकसाथ सहभागी हुँदै – Sagarmathapana:: Online News Portal

ब्रिक्स शिखर सम्मेलन आजदेखि, १० वर्षपछि मोदी, पुटिन र सी एकसाथ सहभागी हुँदै

   २०८३ भाद्र २७ गते  

नयाँदिल्ली- भारतको नयाँदिल्लीमा शनिबारदेखि ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा १० वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एकसाथ सहभागी हुने भएका छन्।

तीनै नेता यसअघि सन् २०१६ मा भारतको गोवामा आयोजित ब्रिक्स शिखर सम्मेलनमा एकसाथ सहभागी भएका थिए। त्यसयता पहिलोपटक उनीहरू एउटै मञ्चमा देखिन लागेका हुन्।

शिखर सम्मेलनमा ब्रिक्सका ११ सदस्य राष्ट्रका साथै १० साझेदार राष्ट्रका नेताहरू सहभागी हुनेछन्। सम्मेलनले विश्व अर्थतन्त्र, व्यापार, वित्तीय सहकार्य र बदलिँदो विश्व राजनीतिक अवस्थाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

विश्व जनसंख्या र अर्थतन्त्रमा ठूलो हिस्सा

ब्रिक्सको प्रभाव सदस्य राष्ट्रको संख्यामा मात्र सीमित छैन। जनसंख्या र अर्थतन्त्रका हिसाबले पनि यो समूह विश्वकै प्रभावशाली मञ्चमध्ये एक हो।

ब्रिक्सका ११ सदस्य राष्ट्रमा विश्वको करिब ४९.५ प्रतिशत जनसंख्या बसोबास गर्छ । अर्थात् विश्वका झन्डै दुईमध्ये एक व्यक्ति ब्रिक्स राष्ट्रमा बस्छन्।

त्यस्तै, क्रयशक्ति समानता (पीपीपी) का आधारमा ब्रिक्स सदस्य राष्ट्रहरूको कुल अर्थतन्त्र विश्व अर्थतन्त्रको करिब ३९ प्रतिशत रहेको बताइएको छ। यो अमेरिकी अर्थतन्त्रको तुलनामा करिब तीन गुणा हो।

अमेरिकी डलरको प्रयोग घटाउने प्रयास

ब्रिक्स राष्ट्रहरूले आपसी कारोबारमा अमेरिकी डलरको प्रयोग घटाउने प्रयास गरिरहेका छन्। त्यसका लागि सदस्य राष्ट्रका आफ्नै मुद्रामा कारोबार बढाउने विषयलाई प्राथमिकता दिइँदै आएको छ।

विभिन्न देशका अनलाइन भुक्तानी प्रणालीलाई आपसमा जोड्ने कामसमेत अघि बढाइएको छ। यद्यपि, ब्रिक्सको हालसम्म आफ्नै एकीकृत भुक्तानी प्रणाली वा साझा मुद्रा भने छैन।

भारतको अध्यक्षतामा हुने यस वर्षको ब्रिक्स शिखर सम्मेलनमा पनि स्थानीय मुद्रामा कारोबार र सहज डिजिटल भुक्तानीलाई प्राथमिकता दिइनेछ।

भारतले ब्रिक्स सदस्य राष्ट्रका डिजिटल भुक्तानी प्रणाली तथा डिजिटल मुद्रालाई आपसमा जोड्ने प्रस्ताव अघि सारेको छ। यसले एक देशबाट अर्को देशमा रकम पठाउन सहज बनाउनुका साथै प्रत्येक कारोबारमा अमेरिकी डलरको प्रयोग घटाउन सक्ने अपेक्षा गरिएको छ।

ब्रिक्सको यस्तो पहललाई पश्चिमी मुलुकका लागि बढ्दो आर्थिक तथा वित्तीय चुनौतीका रूपमा समेत हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै