विपद्पीडित १०० परिवारलाई नेपाल तरुण दलको राहत, २० विद्यार्थीको शिक्षाको जिम्मेवारी लिने
काठमाडौं।नेपाल तरुण दल केन्द्रीय अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा तरुण दलका पदाधिकारी तथा सदस्यहरूले काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा रहेको होल्डिङ सेन्टरमा राहत सामग्री हस्तान्तरण गरेका छन्।
तरुण दलले विपद्बाट प्रभावित १०० परिवारलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो। विपद्का कारण समस्यामा परेका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री वितरण गरिएको जनाइएको छ।
यसैबीच, विपद्का क्रममा आमा–बुवा गुमाएका २० जना विद्यार्थीको उच्च शिक्षासम्मको अध्ययन खर्च नेपाल तरुण दलले अभिभावकत्व ग्रहण गरी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
तरुण दलले विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षामा निरन्तरता कायम राख्न सहयोग गर्ने जनाएको छ। राहतसँगै शिक्षा र दीर्घकालीन पुनर्स्थापनामा समेत आफ्नो भूमिका बढाउने तरुण दलको भनाइ छ।












