चीनले पठायो बेली ब्रिज र शव व्यवस्थापनका लागि मोर्चरी फ्रिजर – Sagarmathapana:: Online News Portal

चीनले पठायो बेली ब्रिज र शव व्यवस्थापनका लागि मोर्चरी फ्रिजर

   २०८३ भाद्र १८ गते  

काठमाडौं।चीन सरकारले नेपाललाई उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

राहत सामग्रीमा अस्थायी रूपमा यातायात सम्पर्क पुनःस्थापना गर्न प्रयोग हुने बेली ब्रिज, शव व्यवस्थापनका लागि मोर्चरी फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री, दैनिक उपभोग्य वस्तु र विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक अन्य सामग्री रहेका छन्।

चीनले नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको छ। चिनियाँ पक्षले नेपालको आवश्यकताअनुसार थप आपतकालीन सहायता उपलब्ध गराउने जनाएको छ।

यसअघि पनि चीनले विभिन्न चरणमा राहत सामग्री, प्राविधिक उपकरण तथा विज्ञ टोली नेपाल पठाइसकेको छ। तेस्रो खेपमा बेली ब्रिज र मोर्चरी फ्रिजर जस्ता सामग्री पठाइनुले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनःसञ्चालन र शव व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै