रसुवाका बाढीपीडितका लागि अमेरिकी सेनाका दुई कार्गो विमान काठमाडौंमा – Sagarmathapana:: Online News Portal

रसुवाका बाढीपीडितका लागि अमेरिकी सेनाका दुई कार्गो विमान काठमाडौंमा

   २०८३ भाद्र १८ गते  

काठमाडौं।रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन अमेरिकी सेनाका दुईवटा कार्गो विमान सहायता सामग्रीसहित काठमाडौं आइपुगेका छन्।

नेपाल सरकारको प्रत्यक्ष अनुरोधमा अमेरिकी सैन्य विमानमार्फत ५ हजार थान विशिष्टीकृत विपद् उद्धार सामग्री, ५०० थान प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–एन्ड लोडर नेपाल ल्याइएको हो।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाल नेतृत्वको खोजी, उद्धार तथा राहत अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

यसअघि अमेरिकाले बाढी प्रतिकार्यका लागि ३६ लाख अमेरिकी डलर बराबरको सहायता घोषणा गरिसकेको थियो। काठमाडौं आइपुगेका पछिल्ला सामग्री भने उक्त सहायता प्याकेजभन्दा अतिरिक्त रहेको दूतावासले जनाएको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा विपद्को समयमा गरिएको यो द्रुत सहयोगले नेपाल–अमेरिका दीर्घकालीन साझेदारी र प्रभावित समुदायलाई सहयोग गर्ने साझा प्रतिबद्धतालाई थप बलियो बनाएको उल्लेख गरिएको छ।

आधुनिक उद्धार उपकरणको अभावमा रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका श्रमिकको खोजी तथा उद्धारमा समेत अमेरिकी सहयोगबाट प्राप्त उपकरण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै