बाढीपीडितका लागि नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघको सहयोग
काठमाडौं।चीनको सिजाङ (तिब्बत) क्षेत्रबाट २०८२ भदौ १० गते बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासीलगायत जिल्लाका विभिन्न बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघले दुःख व्यक्त गरेको छ । बाढीका कारण ठूलो संख्यामा नागरिकको मृत्यु तथा बेपत्ता हुनुका साथै धेरै घाइते भएका छन् ।


त्यस्तै, घर, सम्पत्ति तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको भन्दै संघले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । प्रभावित क्षेत्रको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार निर्माणका लागि दीर्घकालीन योजना र प्रभावकारी पहल आवश्यक रहेको संघले जनाएको छ । यसका लागि सम्बन्धित निकायको सक्रिय पहल, समयोचित निर्णय तथा आवश्यक सहयोगले पीडित परिवारलाई राहत पुग्ने संघको विश्वास छ ।
यसै क्रममा नागरिक, समाज र राष्ट्रप्रति जिम्मेवार तथा उत्तरदायी रहँदै संघ तथा सदस्य उद्योगहरूले रु. १ करोड १ लाख प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय गरेका छन् । सोहीअनुसार संघका अध्यक्ष विकास दुगडसहित संघका पदाधिकारी तथा सदस्यहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।
संघले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक तथा मानवीय कार्यमा निरन्तर संलग्न रहने प्रतिबद्धता जनाएको छ । साथै, सरकार तथा सम्बन्धित सबै पक्षको संवेदनशीलता, सहकार्य र प्रभावकारी पहलबाट मात्र प्रभावित नागरिकको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार निर्माणले गति लिन सक्ने संघले जनाएको छ ।












