रसुवा बाढीलाई जलवायु न्यायको मुद्दा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : प्रधानमन्त्री शाह – Sagarmathapana:: Online News Portal

रसुवा बाढीलाई जलवायु न्यायको मुद्दा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : प्रधानमन्त्री शाह

   २०८३ भाद्र १६ गते  

काठमाडौं।प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक घटना नभई हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण सिर्जित विपद्का रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने घोषणा गरेका छन्।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको मानवीय तथा भौतिक क्षतिको विषयलाई विश्व समुदायसमक्ष सशक्त रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्। हिमाली क्षेत्रमा बढ्दो तापक्रम र वातावरणीय असन्तुलनले विपद्को जोखिम थप गम्भीर बनाउँदै गएको उनको भनाइ छ।


‘यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम निरन्तर बढ्दै गएको स्पष्ट संकेत गरेको छ,’ प्रधानमन्त्री शाहले भने, ‘अब अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले भोगिरहेको जलवायुजन्य विपद्को विषय बलियो रूपमा उठाउने समय आएको छ।’

यसैबीच, रसुवा बाढीका कारण ३८ देशका करिब ५९० जना विदेशी नागरिक सम्पर्कविहीन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विस्तृत आवश्यकता मूल्यांकन (PDNA) पछि प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्नेछ।

सरकारले बाढीबाट भएको क्षतिलाई आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा ‘हानि तथा नोक्सानी’ (Loss and Damage) र जलवायु न्यायको मुद्दासँग जोडेर प्रस्तुत गर्ने तयारी गरेको छ। साथै, पुनर्निर्माणलाई जलवायु उत्थानशील पूर्वाधार निर्माणसँग जोड्दै अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक प्राविधिक तथा आर्थिक सहयोग जुटाउने रणनीति बनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै