टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान,अब २४ घण्टा नदीको निगरानी – Sagarmathapana:: Online News Portal

टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान,अब २४ घण्टा नदीको निगरानी

   २०८३ भाद्र १६ गते  

काठमाडौं।रसुवाको टिमुरे–रसुवागढी क्षेत्रमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा जडान गरिएको क्यामेराबाट नदीको बहाव, पानीको सतह तथा बाढीसम्बन्धी गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिनेछ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन यो निगरानी प्रणाली विस्तार गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा मौसम तथा सम्भावित बाढी जोखिमबारे केन्द्र, जल तथा मौसम विज्ञान विभागका अधिकारी र विज्ञहरूसँग छलफल गरेपछि टिमुरेमा निगरानी प्रणाली विस्तारको काम अघि बढाइएको हो।

क्यामेरा जडान भइसके पनि प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन भिस्याट तथा सञ्चार प्रणाली व्यवस्थापनको प्राविधिक काम भइरहेको जनाइएको छ। आवश्यक काम पूरा भएपछि प्रणाली सञ्चालनमा आउने बताइएको छ।

क्यामेराबाट प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान र पूर्वसूचना सेवासँग एकीकृत गरिनेछ। यसबाट नदीको अवस्था निरन्तर निगरानी गर्दै बाढीको प्रारम्भिक संकेत पहिचान गर्न तथा जोखिममा रहेका क्षेत्रमा समयमै सूचना प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ।

चीनसँगको सीमावर्ती क्षेत्रसमेत रहेको टिमुरे–रसुवागढीमा बाढीको सम्भावित जोखिमबारे तत्काल जानकारी प्राप्त हुने भएकाले नयाँ प्रणालीले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै