भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रोजगारी सिर्जना गर्न सरकारको पहल
काठमाडौं।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्निर्माण तथा रोजगारी सिर्जनाका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल भएको छ।
![]()

छलफलमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), विश्व बैंक, एसियाली विकास बैंक (ADB), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) लगायतका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा विपद् प्रभावित श्रमिक, युवा, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा स्थानीय समुदायलाई तत्काल रोजगारीसँग जोड्न द्रुत रोजगार सहायता कार्यक्रम (Rapid Employment Support Program) सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ।
त्यस्तै, प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक तत्कालीन तथा दीर्घकालीन सीप विकास तालिम सञ्चालन गर्ने, प्रभावित परिवारका लागि अल्पकालीन रोजगारी सिर्जना गर्ने तथा उनीहरूको जीविकोपार्जनलाई सुरक्षित, उत्पादक र उत्थानशील बनाउन विद्यमान कार्यक्रम तथा अनुभवलाई थप सुदृढ गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलमा मन्त्री यादवले विपद्पछिको पुनर्निर्माणमा युवाशक्तिको परिचालन गर्दै रोजगारीका अवसर विस्तारमार्फत प्रभावित क्षेत्रलाई पुनः चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताए।













