बाढीपहिरोपछि ‘नेपाल इलेक्ट्रिक तथा कन्ज्युमर इलेक्ट्रोनिक्स’ प्रदर्शनी स्थगित
काठमाडौं।देशभर आएको विनाशकारी बाढीपहिरोका कारण आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०२६’ हालका लागि स्थगित गरिएको छ।
![]()
मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी हुने तय भएको थियो।

आयोजकका अनुसार बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू कठिन परिस्थितिबाट गुज्रिरहेका बेला व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिले उपयुक्त नदेखिएकाले कार्यक्रम स्थगित गरिएको हो।
नेपाल सरकारको सुरक्षा सचेतना तथा भारत र चीनले आफ्ना नागरिकका लागि जारी गरेका यात्रा सुझावलाई समेत ध्यानमा राख्दै प्रदर्शनी स्थगित गरिएको आयोजकले जनाएको छ। सहभागी, प्रदर्शक तथा आगन्तुकको सुरक्षा र यात्राको सहजतालाई पहिलो प्राथमिकतामा राखिएको बताइएको छ।
देशको अवस्था सामान्य भई यातायात तथा आवश्यक पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ।














