सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग मागियो
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि मित्रराष्ट्रहरूसँग आवश्यक सहयोग मागिएको बताएका छन्।
शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहयोगको पहल गरिएको जानकारी दिए।
उनका अनुसार सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्था पहिचान गरी सम्भावित जीवित व्यक्तिको खोजी तथा उद्धारका लागि आवश्यक प्रविधि र विशेषज्ञ सहयोग उपलब्ध गराउन मित्रराष्ट्रहरूसँग आग्रह गरिएको छ।
मन्त्री खनालले उद्धारसँगै द्रुत डीएनए परीक्षण तथा विश्लेषणका लागि आवश्यक प्रविधि र जनशक्तिको सहयोग पनि मागिएको बताए।
यस्तै, पहिचान हुन बाँकी शवहरूको व्यवस्थापन तथा दीर्घकालीन रूपमा सुरक्षित राख्ने कार्यमा समेत अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनले उल्लेख गरे।
सरकारले विपद्को जटिल परिस्थितिमा उपलब्ध सबै स्रोत र प्रविधिको प्रयोग गर्दै खोजी, उद्धार, पहिचान तथा शव व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।












