विश्वासको मूल्य कति ? हङकङका नेपालीबीच पैसाको कारोबारले बिगार्दैछ सम्बन्ध
हङकङको नेपाली समुदाय आपसी सहयोग, सद्भाव र एकताका लागि परिचित छ। दुःख पर्दा साथ दिने, आर्थिक संकटमा सहयोग गर्ने र आफ्ना मानिसलाई भरोसा गर्ने हाम्रो सामाजिक संस्कार हो। तर यही विश्वास अहिले कतिपय अवस्थामा आर्थिक लेनदेनका कारण कमजोर बन्दै गएको छ। साथीलाई दिएको पैसा फिर्ता नआउँदा साथी दुश्मन बन्ने, आफन्तसँगको सम्बन्ध बिग्रने र वर्षौँदेखिको विश्वास क्षणभरमै टुट्ने अवस्था बढ्दो छ।
यो समस्या कुनै एक व्यक्तिको मात्र होइन। हङकङमा नेपालीहरूबीच हुने निजी आर्थिक कारोबारका क्रममा ‘सापटी लिएर नतिर्ने’ गुनासो बारम्बार सुनिन थालेको छ। कसैले तत्कालीन समस्याका नाममा पैसा लिन्छ, समय गुज्रिँदै जाँदा फोन उठाउन छाड्छ, म्यासेजको जवाफ दिँदैन र अन्ततः पैसा दिने व्यक्ति आफ्नै रकम माग्न असहज महसुस गर्नुपर्ने अवस्थामा पुग्छ। प्रश्न उठ्छ—पैसा माग्दा आफ्नो मान्छे, तर पैसा फिर्ता माग्दा पराइ किन?
गोरखाज खबर हङकङका सञ्चालक डीके दाहाल स्वयं पनि यस्तै अनुभवबाट गुज्रिएको बताउँछन्। १२–१३ वर्षदेखिको नजिकको सम्बन्ध भएका एक व्यक्तिलाई विश्वास गरेर उनले ठूलो रकम सहयोग गरेका थिए। आफूसँग पर्याप्त रकम नभएपछि अर्को साथीसँग ब्याजमा रकम लिएरसमेत सहयोग गरेको उनको भनाइ छ। छ महिनाभित्र फिर्ता गर्ने प्रतिबद्धता गरिएको रकम तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि फिर्ता नआएको उनको अनुभव छ।
यस घटनामा कसैको नाम सार्वजनिक गर्नु वा कसैलाई दोषी प्रमाणित गर्नु हाम्रो उद्देश्य होइन। तर यसले एउटा गम्भीर सामाजिक प्रश्न भने खडा गर्छ—हामीले विश्वासलाई जिम्मेवारीका रूपमा लिइरहेका छौँ कि आफ्नो स्वार्थ पूरा गर्ने माध्यमका रूपमा?
पैसा नतिर्नु केवल आर्थिक विषय होइन। यसले मानसिक तनाव, पारिवारिक समस्या र सामाजिक सम्बन्धमा समेत गहिरो असर पार्छ। अझ दुःखद पक्ष के छ भने, एउटा व्यक्तिलाई विश्वास गरेर पैसा मिलाइदिँदा तेस्रो व्यक्ति पनि आर्थिक जोखिममा पर्न सक्छ। त्यसपछि पैसा मात्र होइन, वर्षौँदेखि बनाएको सम्बन्धसमेत संकटमा पर्छ।
अर्कोतर्फ, आर्थिक विवाद समाधान गर्ने नाममा सामाजिक सञ्जालमा नाम, फोटो र व्यक्तिगत विवरण सार्वजनिक गर्ने प्रवृत्ति पनि बढ्दो छ। फेसबुकका विभिन्न समूहमा ‘फलानोले पैसा खायो’, ‘मेरो पैसा उठाइदिनुस्’ वा ‘यस व्यक्तिबाट सावधान’ जस्ता पोस्ट देखिन थालेका छन्। पीडितको पीडा वास्तविक हुन सक्छ, तर सामाजिक सञ्जाल अदालत होइन। प्रमाण र कानुनी प्रक्रिया नपु¥याई सार्वजनिक आरोप लगाउने प्रवृत्तिले अर्को व्यक्तिको प्रतिष्ठामा क्षति पुर्याउनुका साथै पोस्ट गर्ने व्यक्तिलाई समेत कानुनी जोखिममा पार्न सक्छ।
त्यसैले अब समुदायले ‘विश्वास गर, तर प्रमाण पनि राख’ भन्ने संस्कार विकास गर्नुपर्छ। ठूलो रकम सापटी दिँदा साथी, आफन्त वा दाइभाइ नै भए पनि लिखित सम्झौता गर्नुपर्छ। रकम, फिर्ता गर्ने समय, ब्याज भए त्यसको दर र अन्य सर्त स्पष्ट हुनुपर्छ। बैंकिङ माध्यमबाट कारोबार गर्ने र प्रमाण सुरक्षित राख्ने बानी बसाल्नुपर्छ।
त्यसैगरी, आफूसँग नभएको पैसा अरूबाट ब्याजमा लिएर तेस्रो व्यक्तिलाई सापटी दिने निर्णयबाट पनि सकेसम्म जोगिनुपर्छ। अरूलाई सहयोग गर्ने क्रममा आफ्नो आर्थिक भविष्य जोखिममा पार्नु बुद्धिमानी होइन। सहयोग मानवीयता हो, तर आफ्नो क्षमताभन्दा बाहिरको आर्थिक जोखिम लिनु बाध्यता होइन।
अब हङकङका नेपाली संघसंस्था, सामाजिक अभियन्ता र सञ्चारमाध्यमले पनि यस विषयमा गम्भीर बहस सुरु गर्नुपर्ने बेला आएको छ। आर्थिक साक्षरता, कानुनी सचेतना, लिखित कारोबार र विवाद समाधानका सुरक्षित उपायबारे समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्न सकिन्छ। आवश्यक परे सम्बन्धित विज्ञ वा कानुनी परामर्शदातामार्फत सही बाटो देखाउने वातावरण बनाउन सकिन्छ।
सबैभन्दा महत्वपूर्ण कुरा—पैसाले सम्बन्ध चलाउनु हुँदैन, तर पैसाको कारोबारले सम्बन्ध बिगार्न पनि दिनु हुँदैन। विश्वास हाम्रो शक्ति हो, कमजोरी होइन। त्यसैले विश्वासको दुरुपयोग गर्ने प्रवृत्ति पनि अन्त्य गर्नुपर्छ र विश्वास गरेर सहयोग गर्ने मानिसलाई असुरक्षित बनाउने अवस्था पनि रोक्नुपर्छ।
हामीले यस्तो समुदाय निर्माण गर्नुपर्छ जहाँ समस्यामा परेको व्यक्तिले सहयोग पाओस्, तर सहयोगको दुरुपयोग नहोस्; ऋण लिनेलाई आफ्नो जिम्मेवारी थाहा होस् र ऋण दिनेलाई आफ्नो अधिकार। आर्थिक विवाद भए सामाजिक सञ्जालको भीडमा होइन, प्रमाण र कानुनी प्रक्रियाबाट समाधान खोज्ने संस्कार विकास होस्।
किनकि पैसा फिर्ता गर्न सकिन्छ, तर एकपटक टुटेको विश्वास र बिग्रिएको सम्बन्ध सधैँ फिर्ता ल्याउन सकिँदैन।
यही कुरालाई आत्मसात् गर्दै हङकङको नेपाली समुदायले अब आर्थिक कारोबारमा भावनाभन्दा विवेक, मौखिक वाचाभन्दा प्रमाण र विवादभन्दा समाधानलाई प्राथमिकता दिन आवश्यक छ।
(डीके दाहाल सञ्चालक गोरखाज खबर हङकङका सम्पादकीयको आधार मा तयार गरियेको)












