बिश्केकमा जुट्दै एसियाका शक्तिशाली नेता, एससीओ शिखर सम्मेलनमा तनावदेखि सहकारितासम्म छलफल – Sagarmathapana:: Online News Portal

बिश्केकमा जुट्दै एसियाका शक्तिशाली नेता, एससीओ शिखर सम्मेलनमा तनावदेखि सहकारितासम्म छलफल

   २०८३ भाद्र १३ गते  

काठमाडौँ।यूरेशियाका प्रभावशाली राष्ट्रका शीर्ष नेताहरू आगामी साता किर्गिजस्तानको राजधानी बिश्केकमा आयोजना हुने साङ्घाई सहयोग संगठन (एससीओ) को २५औँ वार्षिकोत्सव शिखर सम्मेलनमा सहभागी हुने भएका छन्।

सेप्टेम्बर १ मा हुने सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ। पछिल्लो समय चीन र भारतबीच सम्बन्ध सुधारका प्रयास भइरहेका बेला हुन लागेको यो बैठकले क्षेत्रीय कूटनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।


सन् २०२५ मा भारत र पाकिस्तानबीच देखिएको सैन्य तनावपछि दुई देशबीचको सम्बन्ध तथा दक्षिण एसियाको सुरक्षा अवस्थाबारे पनि सम्मेलनमा चासो रहनेछ। भारत, पाकिस्तान, चीन र रुसका शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएकाले बिश्केक सम्मेलनलाई क्षेत्रीय शक्ति सन्तुलनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।

अमेरिकाको आर्थिक दबाब सामना गरिरहेको इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा मध्यपूर्वको तनाव, युक्रेन युद्ध तथा अफगानिस्तानको अस्थिरतासहित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ।

सन् १९९६ मा ‘साङ्घाई फाइभ’का रूपमा सुरु भएको सहकार्य सन् २००१ मा साङ्घाई सहयोग संगठनका रूपमा औपचारिक बनेको थियो। हाल चीन, रुस, भारत, पाकिस्तान, इरान, बेलारुस, काजाकिस्तान, किर्गिजस्तान, ताजकिस्तान र उज्बेकिस्तान गरी १० देश यसका पूर्ण सदस्य छन्।

एससीओ नेटो वा युरोपेली संघजस्तो सैन्य अथवा आर्थिक गठबन्धन भने होइन। सुरक्षा, आर्थिक विकास, व्यापार तथा कूटनीतिक सहकार्यलाई प्राथमिकता दिने साझा मञ्चका रूपमा यसले काम गर्दै आएको छ।

सङ्गठनमा टर्की, अजरबैजान र साउदी अरेबियालगायतका देश संवाद साझेदारका रूपमा आबद्ध छन्। बिश्केक सम्मेलनमा विशेषगरी चीन र भारतका शीर्ष नेताबीच हुने सम्भावित भेटवार्ता तथा द्विपक्षीय सम्बन्ध सुधारका विषयलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाल्नेछ।

हिमाली सीमा विवादसहित विभिन्न विषयमा मतभेद रहँदै आएका चीन र भारतबीच पछिल्लो समय संवाद र सम्बन्ध सुधारको प्रयास भइरहेको अवस्थामा सी र मोदीको भेटले आगामी क्षेत्रीय कूटनीतिक दिशाबारे महत्वपूर्ण संकेत दिन सक्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै