चीनतर्फ पहिरोले थुनिएको ताल फुट्यो, रसुवामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह – Sagarmathapana:: Online News Portal

चीनतर्फ पहिरोले थुनिएको ताल फुट्यो, रसुवामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

   २०८३ भाद्र १२ गते  

काठमाडौं।चीनको तिब्बततर्फ पहिरोले थुनिएर बनेको ठूलो ताल फुटेको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोले बनेको ताल फुटेको जानकारी आएपछि रसुवा जिल्ला प्रशासनले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरिएको बताए।


उनका अनुसार तिब्बतबाट बगेर आउने छोचेन र पुरेपू खोला रसुवागढी नजिक नेपाल प्रवेश गरेपछि भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। त्यसैले ताल फुटेपछि नदीको बहाव बढ्न सक्ने र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम उच्च रहेको प्रशासनले जनाएको छ।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको अवस्थामा ताल फुटेपछि नेपालतर्फ पनि बाढीको जोखिम बढेको हो।

ताल फुटेपछि चीनले तिब्बतमा सञ्चालन गरिरहेको उद्धार अभियानसमेत अस्थायी रूपमा स्थगित गरेको जनाइएको छ। उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न निर्देशन दिइएको छ।

रसुवा प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन, सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै