खुश्बु ओली आज परासीमा, युवालाई नेतृत्व र उद्यमशीलताबारे सम्बोधन गर्ने
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी नेतृ तथा सांसद खुश्बु ओली आज शनिबार नवलपरासीको परासीमा हुने विशेष कार्यक्रममा सहभागी हुँदैछिन्।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संस्था रामग्राम जेसीजको निमन्त्रणामा ओली परासी पुगेकी हुन्। नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन–२०२६ अन्तर्गत आयोजना गरिएको कार्यक्रममा उनले युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास, उद्यमशीलता तथा सकारात्मक परिवर्तनका विषयमा प्रेरणामूलक सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
युवाको ऊर्जा, सोच र सम्भावनासँग जोडिने अवसर पाएकोमा ओलीले उत्साह व्यक्त गर्दै रामग्राम जेसीज परिवारलाई धन्यवाद दिएकी छन्।
ओलीले आज दिउँसो २ बजे परासीस्थित होटल सिद्धार्थ पार्क रेजेन्सीमा आयोजित समारोहलाई सम्बोधन गर्नेछिन्।
यसैबीच, राप्रपा नेपाल नवलपरासीले पनि ओलीको औपचारिक स्वागत तथा साक्षात्कार कार्यक्रम आयोजना गर्दै नेता–कार्यकर्तालाई उपस्थित हुन आह्वान गरेको छ। जिल्लामा उनको आगमनलाई पार्टीका नेता तथा कार्यकर्ताले विशेष चासोका साथ हेरेका छन्।












