लक्ष्मी सनराइज बैंकले ३ अर्बको ऋणपत्र बाँडफाँट गर्यो

काठमाडौं।लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ ऋणपत्र बाँडफाँट गरेको छ ।
बैंकले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको १० वर्ष अवधिको ऋणपत्र भदौ १ गते बाँडफाँट गरेको हो । वार्षिक ७ प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहेको छ ।
![]()


बैंकका अनुसार कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थालाई बिक्री गरिएको छ । बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
सर्वसाधारणतर्फ छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिएको बैंकले जनाएको छ ।


ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले सम्हालेको थियो । ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी ब्याज प्राप्त गर्नेछन् ।
बैंकले दीर्घकालीन स्रोत परिचालन गर्ने उद्देश्यले उक्त ऋणपत्र निष्कासन गरेको जनाएको छ ।













