म्यानपावर कम्पनी आजदेखि पूर्ण बन्द,वैदेशिक रोजगारीमा जाने श्रमिक प्रभावित हुने
काठमाडौं।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
![]()
संघका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत ठप्प पारिएको छ। आफ्ना माग सम्बोधन गर्न सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनलाई थप कडा बनाउँदै सेवा बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ।


यसअघि संघले आन्दोलनका विभिन्न चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोक्दै आएको थियो। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन दिइएको समयसीमासमेत सकिएपछि संघले सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो।
म्यानपावर कम्पनी बन्द भएसँगै नयाँ मागपत्र प्रक्रिया, श्रमिक छनोट, कागजात तयारी तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया प्रभावित हुने भएको छ।



संघले सरकारलाई आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। व्यवसायीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौँ श्रमिक प्रभावित हुन सक्ने देखिएको छ।













