एनआरएनए एसिया प्यासिफिक सम्मेलनमा मिस नेपाल दीपमाला : ‘हामी बाहिरका होइनौं, देशप्रेमी हौं’
![]()
काठमाडौं।मिस नेपाल २०२६ दीपमाला ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरू विश्वभर नेपालका सांस्कृतिक तथा सामाजिक दूतका रूपमा रहेको बताएकी छन् ।
एनआरएनए एसिया प्यासिफिक सम्मेलन २०२६ को दोस्रो दिन सम्बोधन गर्दै ढकालले विदेशमा जन्मिएर हुर्किए पनि नेपाली मूल्य, संस्कार, संस्कृति र सम्पदालाई विश्वसामु चिनाउने जिम्मेवारी आफूहरूले वहन गरिरहेको बताइन् ।



उनले आफू विदेशमा जन्मिएर हुर्किएकी पहिलो मिस नेपाल भएको उल्लेख गर्दै आगामी वर्ष तान्जानियामा आयोजना हुने मिस वर्ल्डमा नेपालको झण्डा गर्वका साथ फहराउने जिम्मेवारी पाएको बताइन् ।
ढकालले विदेशमा जन्मिएका नेपालीलाई नेपालका लागि केही गर्ने चाहना भए उनीहरूका लागि पनि देशमा स्थान रहेको सन्देश दिँदै आफूहरू ‘बाहिरका होइनौं, देशप्रेमी हौं’ भन्ने भावना व्यक्त गरिन् । नेपालप्रतिको प्रेमको कुनै सीमा नहुने उनको भनाइ थियो ।


दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधिसमेत जितिसकेकी छन् । उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याक रक (BlackRock) मा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् ।
मिस नेपाल २०२६ को उपाधि जितेपछि दीपमालाले विदेशमा रहेका नेपाली समुदायलाई नेपालसँग जोड्ने र नेपालको पहिचान तथा संस्कृति विश्वमाझ प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन् ।













