युएईमा तापक्रम ५०.४ डिग्री पुग्यो जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो १२ः३० देखि ३ बजेसम्म प्रत्यक्ष घाममा कामगर्न रोक
काठमाडौं।संयुक्त अरब इमिरेट्स (युएई) मा गर्मीले फेरि उग्र रूप लिएको छ। अल धाफ्रा क्षेत्रको बदा दफसमा अगस्ट १४ तारिख दिउँसो २ बजे तापक्रम ५०.४ डिग्री सेल्सियस पुगेको छ। यो सन् २०२६ को अहिलेसम्मकै दोस्रो उच्च तापक्रम हो।
यसअघि अगस्ट ५ मा सोही क्षेत्रमा ५१.२ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो, जुन यस वर्षको सबैभन्दा उच्च तापक्रम हो।

अब अगस्ट २४ मा ‘सुहेल’ ताराको उदय हुने भएकाले युएईका बासिन्दाले अत्यधिक गर्मीको चरण क्रमशः अन्त्य हुने अपेक्षा गरेका छन्। सांस्कृतिक रूपमा सुहेलको उदयलाई गर्मी घट्दै चिसो मौसमतर्फ जाने संकेतका रूपमा लिइन्छ। तर विज्ञहरूका अनुसार तापक्रम एक्कासि घट्ने छैन। तापक्रम क्रमशः कम हुँदै गए पनि ह्युमिडिटी बढ्दा केही समयसम्म गर्मी र उकुसमुकुस कायमै रहन सक्नेछ।

अत्यधिक गर्मीबाट जोगिन नियमित रूपमा पानी पिउन, दिउँसोको चर्को घामबाट बच्न, हलुका तथा खुकुलो कपडा लगाउन र गर्मीमा शारीरिक गतिविधि कम गर्न सुझाव दिइएको छ। साथै, सवारीसाधनका टायरको अवस्था र प्रेसर नियमित जाँच गर्न पनि आग्रह गरिएको छ।
युएईमा जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो १२ः३० देखि ३ बजेसम्म प्रत्यक्ष घाममा तथा खुला क्षेत्रमा काम गर्न रोक लगाइएको छ, जसले श्रमिकलाई अत्यधिक गर्मीबाट सुरक्षित राख्ने उद्देश्य राखेको छ।













