व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको आग्रह – Sagarmathapana:: Online News Portal

व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको आग्रह

   २०८३ श्रावण २९ गते  

काठमाडौं।सभामुख डीपी अर्यालले व्यवसायीक तथा पेशागत संस्थालाई राजनीतिक गतिविधि र व्यक्तिगत स्वार्थबाट टाढा राखेर व्यवसाय तथा क्षेत्रगत हितमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सभामुख अर्यालले नाट्टा व्यवसायीक संस्था भएकाले पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवद्र्धन र व्यवसायीको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले पर्यटकका लागि सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय भएकाले हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटकलाई आकर्षित गर्न सुरक्षित वातावरणसँगै सेवा, सुविधा र व्यवहारमा समेत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।

सभामुख अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यमान संरचनाको प्रभावकारी प्रयोग गर्न सुझाव दिनुभयो । पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त छलफल गरी आगामी ५० वर्षलाई दृष्टिगत गर्दै दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले राष्ट्रिय हितलाई प्राथमिकता दिएर विमान सेवा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन पर्यटन व्यवसायीको समेत सक्रिय भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो ।

यस्तै, नेपाली र विदेशी पर्यटकबीच पर्यटन सेवामा कुनै प्रकारको विभेद गर्न नहुनेमा सभामुख अर्यालले जोड दिनुभयो । हवाई टिकट, होटल तथा अन्य सेवामा समान व्यवहार हुनुपर्ने उहाँको भनाइ थियो ।

सभामुख अर्यालले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई दक्ष जनशक्ति उत्पादन गर्ने गरी थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनुपर्ने तथा भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालनबारे गम्भीर बहस आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो निर्वाचनले सरकारलाई ठूलो जनमतसहित स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै उहाँले अब सरकार असफल हुने छुट नरहेको बताउनुभयो । मुलुकलाई समृद्ध बनाउँदै सुशासन कायम गर्न र भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै