पत्रकार किशोर श्रेष्ठ पक्राउपछि पत्रकार राजीव खत्रीको कडा टिप्पणी – Sagarmathapana:: Online News Portal

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि पत्रकार राजीव खत्रीको कडा टिप्पणी

   २०८३ श्रावण २९ गते  

काठमाडौं।पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि पत्रकार राजीव खत्रीले पत्रकारिता, प्रेस आचारसंहिता र कानुनी शासनबारे कडा टिप्पणी गरेका छन्।

खत्रीले पत्रकारिताको प्रमाणपत्र वा सञ्चारमाध्यमको वर्गीकरणभन्दा पत्रकारको आचरण र जिम्मेवारी महत्वपूर्ण हुने बताएका छन्। उनले पत्रकार आचारसंहितालाई बेवास्ता गर्दै पीडितको घाउमा थप चोट पुग्ने गरी समाचार सम्प्रेषण गर्नु पत्रकारिताको मूल धर्मविपरीत हुने टिप्पणी गरेका छन्।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाका लागि उचित नहुने उल्लेख गर्दै खत्रीले गम्भीर आरोप वा अपराधमा संलग्न भएको प्रमाण भए कानुनी प्रक्रियाबाट उन्मुक्ति दिन नहुने धारणा राखेका छन्।

उनले पत्रकारलाई राजनीतिक दलका भ्रातृ संगठनको संरक्षणभन्दा पनि पेशागत आचारसंहिता र तथ्यमा आधारित पत्रकारिताप्रति जिम्मेवार हुन आग्रह गरेका छन्। पत्रकार समाजको दर्पण भएकाले कलमलाई राजनीतिक स्वार्थ, दबाब वा व्यक्तिगत बार्गेनिङको माध्यम बनाउन नहुने उनको भनाइ छ।

खत्रीले पत्रकार, नेता, प्रहरी, सेना वा न्यायाधीश जुनसुकै पदमा भए पनि कानुनभन्दा माथि हुन नसक्ने बताएका छन्। पक्राउ परेका श्रेष्ठले आफूविरुद्ध लगाइएका आरोप गलत भएको प्रमाणित गर्न सके कानुनी प्रक्रियाबाट मुक्त हुने र अन्यथा कानुनअनुसार कारबाही भोग्नुपर्ने उनको टिप्पणी छ।

यद्यपि, पत्रकार पक्राउसम्बन्धी विषयमा प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र कानुनी प्रक्रियाबीच सन्तुलन आवश्यक रहेको देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै