बर्दियाका बाघको दुर्लभ व्यवहार बीबीसी वृत्तचित्रमार्फत विश्वसामु – Sagarmathapana:: Online News Portal

बर्दियाका बाघको दुर्लभ व्यवहार बीबीसी वृत्तचित्रमार्फत विश्वसामु

   २०८३ श्रावण २० गते  

काठमाडौं।बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले देखाएको दुर्लभ तथा यसअघि अभिलेख नभएको व्यवहार अन्तर्राष्ट्रिय वृत्तचित्रमार्फत विश्वसामु आएको छ।बीबीसी र पीबीएसको सहकार्यमा निर्माण गरिएको ‘टाइगर आइल्यान्ड: अ हिडन वर्ल्ड रिभेल्ड’ वृत्तचित्रले बाघको असाधारण व्यवहारसँगै नेपालको समुदायमा आधारित संरक्षण अभ्यासलाई विश्व दर्शकमाझ पुर्‍याएको हो।

टुरिजम इन्फो नेपालले बुधबार काठमाडौंको ठमेलस्थित एलफ्ट होटलमा वृत्तचित्रको विशेष प्रदर्शन आयोजना गरेको थियो। कार्यक्रममा पर्यटन, संरक्षण तथा सरकारी क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो।


बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वन क्षेत्रमा छायांकन गरिएको वृत्तचित्रमा गोमा, माला र जुगिनी नामका पोथी बाघको गतिविधिलाई पछ्याइएको छ। वृत्तचित्रमा पोथी बाघहरूले मिलेर बच्चाको हेरचाह गर्ने तथा भाले बाघले समेत बच्चाको संरक्षणमा सक्रिय भूमिका खेलेको दुर्लभ दृश्य समेटिएको छ, जसले बाघको व्यवहारबारे स्थापित मान्यतालाई चुनौती दिएको निर्माण टोलीले जनाएको छ।

सन् २०२२ को अन्त्यदेखि सुरु गरिएको अध्ययन र छायांकनमा ड्रोन, थर्मल क्यामेरा, नाइट–भिजन प्रविधि तथा विस्तृत फिल्ड ट्र्याकिङ प्रयोग गरिएको थियो। वृत्तचित्रको दोस्रो भागमा रातको समयमा बाघले सिकार गरेको दुर्लभ दृश्यसमेत समावेश गरिएको छ।

कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गरेका थिए। उनले नेपालको बाघ संरक्षण उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउन यस्ता वृत्तचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा पूर्वमन्त्री श्रद्धा श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीधर पोखरेललगायतको उपस्थिति रहेको थियो।

वृत्तचित्र प्रदर्शनपछि आयोजित प्यानल छलफलमा बर्दियाका प्रकृति गाइड सुशीला महतरा र मञ्जु महतराले बाघको खोज, अनुगमन तथा ट्र्याकिङका अनुभव साझा गरेका थिए।

छलफलका क्रममा सन् २०१० मा १२१ रहेको नेपालको बाघ संख्या हाल ४०० भन्दा माथि पुगेको तथ्य प्रस्तुत गर्दै सहभागीहरूले नेपाललाई विश्वकै सफल बाघ संरक्षण नमुनाका रूपमा स्थापित गर्न सफल भएको बताए। यद्यपि बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नयाँ चुनौती बनेको उनीहरूको भनाइ थियो।

सहभागीहरूले संरक्षण र पर्यटनबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको हित, सुरक्षा र सहभागितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर सत्र तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै