अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाईँदै
SAGARMATHA PANA
२०८३ श्रावण २० गते
विश्व स्तनपान सप्ताह
डा रमिता श्रेष्ठ
बालरोग तथा नवजात शिशुरोग विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाईँदै आइएको छ । उक्त दिवसको अवसरमा नेपालसहित विश्वभर स्तनपान सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाउने गरिन्छ ।
‘दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने नाराका साथ आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि उक्त दिवस मनाइएको छ । कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीलाई स्तनपानको महत्व, यसको फाइदाको बारेमा जानकारी गराइएको छ । अस्पतालकी बालरोग विशेषज्ञ तथा नवजात शिशुरोग विशेषज्ञ डा रमिता श्रेष्ठले आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार भएको बताउनुभयो ।


उहाँका अनुसार आमाको दूधमा शिशुको वृद्धि विकासका लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरू पाइन्छ । यसमा पाइने ‘इम्युनोग्लोबुलिन’ ले बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले गर्दा शिशुलाई निमोनिया, झाडापखाला जस्ता विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ । यसका साथै स्तनपानले बच्चाको बौद्धिक र मानसिक विकासमा पनि दीर्घकालीन सकारात्मक प्रभाव पार्छ ।
उहाँले शिशु जन्मिएको एक घण्टाभित्रै स्तनपान सुरु गरिसक्नुपर्ने बताउनुभयो । ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक पानी वा अन्य कुनै पनि ठोस आहार दिन नहुने उहाँको भनाई छ । ६ महिना पुगेपछि मात्र अन्य पोसिलो र नरम खानाका साथै कम्तिमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ । २४ घण्टामा बच्चाको माग अनुसार ८ देखि १० पटकसम्म स्तनपान गराउनु उपयुक्त हुने डा श्रेष्ठले बताउनुभयो ।
धेरैजसो आमाहरूले स्तनपान गराउँदा स्तन दुख्ने, घाउ हुने वा दूध नआउने जस्ता समस्या भोग्ने गरेको भन्दै उहाँले स्तनपान गराउने सही तरिका नमिल्दा यस्ता समस्या आउने गरेको बताउनुभयो ।
आमाले प्रशस्त पोसिलो खाना खाने, झोलिलो पदार्थ सेवन गर्ने र मानसिक तनावबाट मुक्त हुनाले दूधको उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो । स्तनपान गराउनु आमाको मात्र जिम्मेवारी नभई परिवार, समाज र राज्यको पनि साझा जिम्मेवारी भएको उहाँको भनाई छ ।
नेपाल सरकारले हाल सुत्केरी आमाहरूलाई करिब ३ महिना को बिदा दिँदै आएको भएपनि उक्त विदा नवजात शिशुका लागि भने अपुग हुने गरेको बताउनुभयो । नवजात शिशुका लागि ६ महिनासम्म पूर्ण स्तनपान अनिवार्य रहेकाले यो बिदालाई कम्तिमा ६ महिनासम्म पु¥याउनुपर्ने उहाँको भनाई छ । यसले सुत्केरी आमा र शिशु दुवैको स्वास्थ्यमा ठूलो टेवा पुग्ने डा श्रेष्ठले बताउनुभयो । आमाको दूध बच्चाको अधिकार मात्र नभई उसको जीवनको स्वस्थ सुरुवातको आधार भएको उहाँले बताउनुभयो ।



फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै












