काठमाडौंमा पहिलोपटक हुँदै इन्फा अवार्ड २०२६, नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तयारी – Sagarmathapana:: Online News Portal

काठमाडौंमा पहिलोपटक हुँदै इन्फा अवार्ड २०२६, नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तयारी

   २०८३ श्रावण १९ गते  

काठमाडौं।नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२६ को तेस्रो संस्करण आगामी साउन ३० गते (१५ अगस्ट २०२६) काठमाडौंमा आयोजना हुने भएको छ। यसअघि दुई संस्करण बेलायतको लन्डनमा सम्पन्न भएको अवार्ड पहिलोपटक नेपालमै हुन लागेको हो।

इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालले संयुक्त रूपमा आयोजना गर्न लागेको यस अवार्डले नेपाली चलचित्र, कला, भाषा र संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्य लिएको जनाएको छ। आयोजकका अनुसार अवार्डलाई नेपाली फिल्म क्षेत्रकै प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरको सम्मानका रूपमा स्थापित गर्ने तयारी भइरहेको छ।


अवार्ड समारोहलाई भव्य बनाउन आयोजकले वरिष्ठ तथा चर्चित कलाकार, निर्माता, निर्देशक, प्राविधिक र सञ्चारकर्मीलाई निमन्त्रणा हस्तान्तरण अभियानलाई तीव्र बनाएको छ। आगामी दिनमा थप फिल्मकर्मीलाई पनि औपचारिक निमन्त्रणा प्रदान गरिने जनाइएको छ।

यस वर्षको कार्यक्रम सफल बनाउन बेलायत र नेपालका आयोजक तथा फिल्मकर्मी संयुक्त रूपमा सक्रिय छन्। यूके टोलीको नेतृत्व उमेशराज मोक्तानले गरिरहेका छन् भने नेपालतर्फ सुनील श्रेष्ठ नेतृत्वमा तयारी भइरहेको छ।

यसअघि लन्डनमा सम्पन्न दुई संस्करणले प्रवासमा रहेका नेपाली समुदायको उल्लेखनीय साथ पाएको थियो। यसपटक नेपालमै आयोजना हुन लागेको तेस्रो संस्करणले स्वदेशी चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग अझ नजिक जोड्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार इन्फा अवार्ड केवल पुरस्कार वितरण कार्यक्रम मात्र नभई नेपाली फिल्म उद्योगको योगदानलाई विश्वसामु प्रस्तुत गर्ने अभियान पनि हो। उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता–अभिनेत्री लगायत विभिन्न विधामा सम्मान प्रदान गरिनेछ।

आयोजकले इन्फा अवार्डलाई नेपाली फिल्म क्षेत्रको गौरवपूर्ण पहिचान बनाउने लक्ष्य रहेको उल्लेख गर्दै चलचित्रकर्मी, कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा सञ्चारकर्मीको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै