हलीको पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटोमा भरिभराउ – Sagarmathapana:: Online News Portal

हलीको पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटोमा भरिभराउ

   २०८३ श्रावण १९ गते  

काठमाडौँ।आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हली’को प्रचारप्रसारलाई निर्माण टिमले देशव्यापी बनाएको छ।

निर्माण पक्षका अनुसार फिल्मको प्रचार अभियान पूर्वी जिल्ला झापा, मोरङ र सुनसरीपछि अहिले दाङ, नेपालगञ्ज र धनगढीसम्म विस्तार गरिएको छ। ती क्षेत्रमा अटो र ई–रिक्सामा फिल्मका पोस्टर राखेर प्रचार भइरहेको छ।

निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले फिल्मबारे दर्शकलाई जानकारी गराउन विभिन्न माध्यमबाट प्रचारप्रसारलाई तीव्र बनाइएको बताए।

‘अहिले दर्शकमाझ फिल्म पुर्‍याउने प्रयास गरिरहेका छौं। प्रचारप्रसारबिना दर्शकलाई हलसम्म ल्याउन गाह्रो हुन्छ,’ निर्माता पूजा गुरुङले भनिन्।

यसअघि प्रचार अभियानअन्तर्गत काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा विशेष शो पनि आयोजना गरिएको थियो। निर्माण पक्षका अनुसार उक्त प्रदर्शनमा सहभागी दर्शक र फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।

ओम प्रतीकको निर्देशन रहेको फिल्म छाउपडी प्रथाका कारण बालिकाले भोग्नुपरेका सामाजिक पीडा र विभेदमा आधारित छ। फिल्मले सामाजिक परिवर्तनको सन्देश दिने निर्माण टिमको भनाइ छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा बनेको फिल्ममा पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी छ। अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह-निर्माता, लक्ष्मण कर्माचार्य लाइन प्रोड्युसर तथा जीवननाथ गौतम मुख्य सहायक निर्देशक हुन्।

फिल्मको कथा तथा पटकथा निर्देशक ओम प्रतीक स्वयंले लेखेका हुन्। फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहारी र ओम प्रतीकको अभिनय छ।

फिल्मको प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष प्रस्तुति रहेको छ।

राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ। वितरण नेसनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै