बसको ठक्करपछि सुनकोशीमा कार खस्यो, ४ जना सवार रहेको आशंका
काठमाडौं।रामेछाप, सिन्धुली र ओखलढुंगाको सीमाक्षेत्र लिखु खोला नजिक सुनकोशी नदीमा यात्रुसहितको कार खसेको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी राजमार्गअन्तर्गत सडक निर्माणस्थलमा खटिएका कन्ट्रयाक्टरसहित सवार कारलाई बसले ठक्कर दिँदा कार फिक्कल गाउँपालिका–२, नवलपुर (सिन्धुली) क्षेत्रमा सुनकोशी नदीमा खसेको हो।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार कारमा चार जना सवार रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ। उनी घटनास्थलतर्फ जाँदै रहेका छन्।
घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोली परिचालन गरिएको छ। कारमा सवार व्यक्तिहरूको अवस्था भने तत्काल खुल्न सकेको छैन।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।












