बालअधिकार, पोषण र जलवायु सहकार्यबारे मन्त्री गीता चौधरी र युनिसेफ प्रतिनिधिबीच छलफल
काठमाडौं।कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि UNICEF की प्रतिनिधि एलिस अकुङ्गाले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।
मन्त्रालयमा भएको भेटवार्तामा बालअधिकार, पोषण, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा बालमैत्री विकासका विषयमा विस्तृत छलफल भएको थियो। विशेषगरी वंशाणुगत रोग सिकलसेल एनेमियाबाट प्रभावित बालबालिका, युवा तथा महिलाको स्वास्थ्यमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।


भेटका क्रममा मन्त्री चौधरीले बालबालिकाको पोषण सुधार, खाद्य सुरक्षा, दिगो कृषि प्रणालीको विकास तथा जलवायु परिवर्तनका असर न्यूनीकरणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै युनिसेफसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
युनिसेफकी प्रतिनिधि अकुङ्गाले नेपालसँगको साझेदारीलाई निरन्तरता दिँदै बालस्वास्थ्य, पोषण, शिक्षा, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहयोग विस्तार गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो।
भेटमा दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न कृषि, वातावरण संरक्षण र बालअधिकारसँग सम्बन्धित कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा समेत सहमति भएको मन्त्रालयले जनाएको छ।














