अमेरिकी एआई विज्ञले नेपाली युवा उद्यमीलाई दिए एआई व्यवसायीकरणका व्यावहारिक सुझाव
काठमाडौं।अमेरिकी एआई विज्ञ तथा 7Lift.ai का संस्थापक एवं प्रमुख एआई अधिकृत (Chief AI Officer) डेभिड स्वाइसगुडले नेपालका युवा उद्यमीहरूसँग अन्तरक्रिया गर्दै कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित समाधानलाई व्यवसायमा रूपान्तरण गर्ने, बजारको माग पहिचान गर्ने तथा व्यवसायका मूल चुनौती समाधान गर्ने उपायबारे प्रशिक्षण दिएका छन्।
कार्यक्रममा उनले अमेरिकी नवप्रवर्तन (Innovation) प्रणालीबाट सिक्न सकिने अभ्यास, निरन्तरता र विश्वासमार्फत व्यवसाय विस्तार गर्ने रणनीति, डिजिटल निर्यात प्रवर्द्धन गर्ने उपाय तथा डिजिटल प्लेटफर्ममार्फत ग्राहकको पहुँच विस्तार गर्ने विषयमा व्यावहारिक अनुभव साझा गरेका थिए।

नेपाल भ्रमणका क्रममा स्वाइसगुडले अमेरिकन चेम्बर अफ कमर्स नेपाल (AmCham Nepal), प्रविधि कम्पनी, लगानीकर्ता, उद्यमी तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका छन्। छलफलमा नेपालमा एआई अपनाउने तयारी, डिजिटल रूपान्तरणका सम्भावना तथा सार्वजनिक–निजी साझेदारीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विचार आदान–प्रदान भएको थियो।
अमेरिकी निजी क्षेत्रको अनुभवलाई नेपाली व्यवसायसँग जोड्दै यस्ता पहलले नेपालका उद्यमलाई थप प्रतिस्पर्धी, नवप्रवर्तनमुखी र एआई युगका लागि सक्षम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, यसले अमेरिकी प्रविधि कम्पनीहरूलाई नेपालको विस्तारोन्मुख डिजिटल अर्थतन्त्रमा सहकार्य र लगानीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।












