काठमाडौं महानगर र ऊर्जा मन्त्रालयबीच हरित पूर्वाधारमा सहकार्यको प्रस्ताव – Sagarmathapana:: Online News Portal

काठमाडौं महानगर र ऊर्जा मन्त्रालयबीच हरित पूर्वाधारमा सहकार्यको प्रस्ताव

   २०८३ श्रावण १५ गते  

काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै भूमिगत पानी पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज), सौर्य सडक बत्ती विस्तार, सम्पदामैत्री विद्युतीकरण तथा फोहोरबाट ऊर्जा उत्पादन (वेस्ट टु इनर्जी) परियोजना अघि बढाउने प्रस्ताव गरेको छ। 

बिहीबार मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कामु मेयर सुनिता डंगोलबीच भएको छलफलमा दिगो शहरी विकाससँग सम्बन्धित विभिन्न योजनामा संयुक्त सहकार्य गर्ने विषयमा छलफल भएको हो। 

मन्त्री श्रेष्ठले वर्षाको पानी जमिनमुनि पुनर्भरण गर्ने प्रणाली विकास गरी भूमिगत पानीको सतह जोगाउने, सौर्य सडक बत्तीको प्रभावकारी विस्तार र व्यवस्थापन गर्ने तथा ऐतिहासिक सम्पदा क्षेत्रमा सम्पदाको मौलिकता कायम राख्दै विद्युतीकरणको नमुना विकास गर्नुपर्नेमा जोड दिएका छन्। साथै, फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोड्ने ‘वेस्ट टु इनर्जी’ परियोजनालाई पनि प्राथमिकताका साथ अघि बढाउन प्रस्ताव गरेका छन्। 

छलफलका क्रममा कामु मेयर डंगोलले मन्त्रालयको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै महानगरले आवश्यक अध्ययन, सम्भाव्यता विश्लेषण र विस्तृत कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्ने बताएकी छन्। दुवै पक्षले स्वच्छ ऊर्जा, वातावरण संरक्षण र आधुनिक शहरी पूर्वाधार विकासका क्षेत्रमा संस्थागत सहकार्यलाई अगाडि बढाउने सहमति गरेका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै