शिक्षा क्षेत्रमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने मन्त्री पोखरेलको प्रतिबद्धता
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत विषयका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा विद्यालयदेखि विश्वविद्यालय तहसम्म मानसिक स्वास्थ्यलाई प्रभावकारी रूपमा संस्थागत गर्ने विषयमा छलफल भएको हो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य, त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागका प्रतिनिधि, मानसिक रोग विशेषज्ञ, मानसिक स्वास्थ्य विज्ञ, सामाजिक अभियन्ता, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता थियो।
छलफलमा सहभागीहरूले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको भन्दै शिक्षा प्रणालीमार्फत यसको रोकथाम, समयमै पहिचान र व्यवस्थापनका लागि स्पष्ट नीति तथा कार्यक्रम आवश्यक रहेको बताएका थिए। उनीहरूले विद्यार्थी, शिक्षक र अभिभावकमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउनुका साथै विद्यालय तथा विश्वविद्यालयमा मनोसामाजिक परामर्श सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।
मन्त्री पोखरेलले मानसिक स्वास्थ्य आजको समाजको गम्भीर र संवेदनशील विषय भएको उल्लेख गर्दै विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझावलाई मन्त्रालयले नीतिगत रूपमा अध्ययन गरी आवश्यक सुधार अघि बढाउने बताउनुभयो।
उहाँले शिक्षा नीतिमा मानसिक स्वास्थ्यलाई प्रभावकारी रूपमा समेट्दै विद्यालय तथा विश्वविद्यालयमा परामर्श सेवा विस्तार, सचेतनामूलक कार्यक्रम सञ्चालन र आवश्यक सहजीकरणका उपाय अघि बढाइने जानकारी दिनुभयो।
प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत रूपमा सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले पनि मानसिक स्वास्थ्यका विषयमा आवश्यक नीतिगत पहलका लागि मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यसामग्री विकास, प्रशिक्षित परामर्शदाताको व्यवस्था, संस्थागत सेवा विस्तार तथा समुदायस्तरसम्म जनचेतना अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। अन्तरक्रियाबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेटिने मन्त्रालयले जनाएको छ।












