खिर प्रवर्द्धन अभियान सुरु, साउन १५ मा १ करोड लिटर दूध खपत हुने अपेक्षा – Sagarmathapana:: Online News Portal

खिर प्रवर्द्धन अभियान सुरु, साउन १५ मा १ करोड लिटर दूध खपत हुने अपेक्षा

   २०८३ श्रावण १४ गते  

काठमाडौं।राष्ट्रिय खिर दिवसको अवसर पारेर नेपाल डेरी एसोसिएसनले काठमाडौंमा खिर प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत खिरको सांस्कृतिक, पोषण तथा आर्थिक महत्व उजागर गर्दै साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थको कारोबार हुने अनुमान सार्वजनिक गरिएको छ ।


नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालको अध्यक्षता तथा दुग्ध किसान रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कृषि, डेरी उद्योग, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीले कृषि क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै यस्ता प्रवर्द्धनात्मक अभियानले दुग्ध क्षेत्रलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले डेरी क्षेत्रका गतिविधिमा महासंघको निरन्तर साथ रहने बताए । साना तथा घरेलु उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले डेरी उद्योगको गुणस्तर सुधारमा जोड दिँदै नेपाल डेरी एसोसिएसनले सञ्चालन गरेको अभियानको प्रशंसा गरिन् । निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरेले छुर्पी, घिउलगायत नेपाली दुग्धजन्य उत्पादनको निर्यात प्रवर्द्धनमा महासंघले आवश्यक सहयोग गर्ने बताए । प्रमुख अतिथि तथा दुग्ध किसान रामप्रसाद घिमिरेले किसानलाई सम्मान गर्दै प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएकोमा खुसी व्यक्त गर्दै यो सम्मान सम्पूर्ण नेपाली किसानको भएको बताए ।

कार्यक्रममा काठमाडौं इङ्लिस स्कुलका बालबालिकालाई खिर खुवाएर अभियानको शुभारम्भ गरिएको थियो । साथै सहभागीलाई नौ प्रकारका खिरको स्वाद चखाइएको थियो । नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरमा साउन १५ गते पनि नौ प्रकारका खिर उपलब्ध गराइने तथा आवश्यक परे होम डेलिभरीको व्यवस्था समेत गरिएको मौलिक भान्छाघरका प्रबन्ध निर्देशक सुमन दाहालले जानकारी दिए ।

नेपाल डेरी एसोसिएसनका अनुसार यस वर्ष साउन १५ मा देशभर करिब १ करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ । यसबाट १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ, जसले दूध उत्पादक किसान, डेरी उद्योग तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष “खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान” भन्ने नारासहित देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार खिर नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा पारिवारिक जीवनसँग गहिरो रूपमा जोडिएको परिकार हो । दूध, चामल, चिनी वा गुड, घिउ तथा सुक्खा फलफूलबाट तयार हुने खिर पोषणका दृष्टिले पनि ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन र खनिज तत्वको महत्वपूर्ण स्रोत मानिन्छ ।
डेरी क्षेत्रका सरोकारवालाले राष्ट्रिय खिर दिवसलाई केवल सांस्कृतिक पर्वका रूपमा नभई स्वदेशी दूधको उपभोग बढाउने, किसानको सम्मान गर्ने, डेरी उद्योगलाई सुदृढ बनाउने तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै