प्रभु बैंककी सिबिओ रश्मी पन्त सिआइबीको नियन्त्रणमा
काठमाडौं।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
सिआइबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार पन्तलाई बुधबार काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गत अनुसन्धान भइरहेको र म्याद थपका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार पन्तमाथि कर्जा रकम दुरुपयोगसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ। यही प्रकरणमा यसअघि रूपन्देहीका ५८ वर्षीय शशिधर शर्मा पनि पक्राउ परिसकेका छन्। एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शर्मालाई सिआइबीले असार ३० गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा शर्माले प्रभु बैंकबाट लिएको ४८ करोड रुपैयाँ कर्जा रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि स्वीकृत भए पनि अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरेको आरोप छ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले तयार पारेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनमा समेत यससम्बन्धी विवरण उल्लेख रहेको बताइएको छ।

प्रहरीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामाका आधारमा कर्जा प्रवाह गरिएको र पारिवारिक सम्बन्धका कारण बैंकिङ प्रक्रियाको दुरुपयोग भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।
यसै प्रकरणमा पन्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।













