किरात याक्थुङ चुम्लुङ यूएईको सिसेक्पा तङ्नाम ५०८६ भव्य रूपमा सम्पन्न
दुबई।किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा सिसेक्पा तङ्नाम ५०८६ कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। जुलाई १९, २०२६ मा बुर दुबईस्थित क्लब एभरेस्टको सभाहलमा आयोजित कार्यक्रममा यूएईमा रहेका लिम्बु समुदायका साथै विभिन्न जातीय, सामाजिक तथा वैचारिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्ष पोबो थेबे सेमीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईका अध्यक्ष भागरथी कुमार भगत तथा विशेष अतिथिका रूपमा नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानको उपस्थिति रहेको थियो।



कार्यक्रममा संस्थाका संस्थापक, पूर्वअध्यक्ष, संरक्षक तथा सल्लाहकारहरू, नेफिन यूएईका संरक्षक तथा सल्लाहकार, यूएईस्थित विभिन्न लिम्बु जातीय संस्था तथा विभिन्न जातीय र जिल्ला संस्थाका प्रतिनिधिलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन संस्थाकी प्रथम उपाध्यक्ष मनिषा खाम्दाक इङ्गाषाले गर्नुभएको थियो भने औपचारिक कार्यक्रम महासचिव भूमि इधिङ्गो यम्भामी र सचिव दिलीप आङ्देम्बेले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो।
परम्परागत केलाङ–लाम्दाकमार्फत अतिथिहरूलाई स्वागत गरी आसन ग्रहण गराएपछि दीप प्रज्वलन र नेपालको राष्ट्रिय गानबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो। त्यसपछि संस्थाका वरिष्ठ उपाध्यक्षले स्वागत मन्तव्य राख्नुभएको थियो।



कार्यक्रम संयोजक मनिषा खाम्दाक इङ्गाषाले सिसेक्पा तङ्नामको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वमाथि प्रकाश पार्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, कलाकार तथा सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रमुख अतिथिको मन्तव्यपछि कार्यक्रमका प्रायोजकहरूलाई प्रमुख अतिथि, सभापति तथा अतिथिहरूको हातबाट मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। त्यसपछि सभापति पोबो थेबे सेमीले औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।



औपचारिक कार्यक्रमपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। सांस्कृतिक विभाग प्रमुख संगीता कुरुम्बाङ र सचिवले सञ्चालन गर्नुभएको सांस्कृतिक कार्यक्रममा सहभागी कलाकारहरूले विभिन्न आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। प्रत्येक प्रस्तुति पश्चात कलाकारहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा केलाङ कलाकारहरूलाई विधिपूर्वक बिदाइ गरिएको थियो।
कार्यक्रम संयोजक तथा किरात याक्थुङ चुम्लुङ यूएई परिवारले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण, प्रायोजक, सहयोगी, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी तथा संस्थाका सम्पूर्ण पदाधिकारी र सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
संयोजक इङ्गाषाले सम्पूर्णको साथ, सहयोग र सक्रिय सहभागिताले सिसेक्पा तङ्नाम ५०८६ कार्यक्रमलाई भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सफल बनाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभएको छ।













