पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, १ करोड ७१ लाख घूस लिएको अख्तियारको दाबी – Sagarmathapana:: Online News Portal

पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, १ करोड ७१ लाख घूस लिएको अख्तियारको दाबी

   २०८३ श्रावण ६ गते  

काठमाडौं।नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार अधिकारीले प्राधिकरणअन्तर्गतका विभिन्न ठेक्कापट्टामा सहजीकरण गरिदिने भन्दै निर्माण व्यवसायीबाट १ करोड ७१ लाख रुपैयाँ घूस लिएको र उक्त रकमबाट ललितपुरमा श्रीमतीको नाममा १३ आना जग्गा खरिद गरेको आरोप छ।

अनुसन्धानका क्रममा घूसबाट प्राप्त रकम लुकाउने उद्देश्यले जग्गा खरिदमा वास्तविक कारोबारभन्दा कम रकम देखाइएको अख्तियारको दाबी छ। आयोगका अनुसार उक्त जग्गाको राजीनामा लिखतमा ९१ लाख रुपैयाँ मात्र कारोबार रकम देखाइएको थियो।

अख्तियारले अधिकारीले गैरकानुनी रूपमा प्राप्त रकमलाई वैध देखाउने प्रयास गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अभियोग लगाएको जनाएको छ।

यस प्रकरणमा घूस दिएको आरोपमा निर्माण व्यवसायी प्रेमप्रकाश ढकाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारको अभियोगअनुसार अधिकारी प्राधिकरणमा उच्च जिम्मेवारीमा रहँदा ठेक्का स्वीकृति, आयोजना व्यवस्थापन तथा भुक्तानी प्रक्रियामा प्रभाव पार्ने भूमिकामा थिए। सोही क्रममा निर्माण व्यवसायीसँग मिलेमतो गरी आर्थिक लाभ लिएको आरोप आयोगले लगाएको छ।

अधिकारीविरुद्ध यसअघि पनि भ्रष्टाचारसम्बन्धी विभिन्न आरोपमा अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढेको बताइएको छ। पछिल्लो मुद्दामा लगाइएका आरोपबारे अन्तिम फैसला भने विशेष अदालतबाट हुन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै