तीन महिनामा ३ लाख सदस्य बनाउने लक्ष्य, कुलमान घिसिङद्वारा संगठन विस्तार अभियान तीव्र बनाउन आह्वान
काठमाडौं।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्।
उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता प्रणालीमार्फत गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताए। उनले सदस्यता वितरणलाई पार्टीलाई जनतासम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा अघि बढाइने उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई संगठन निर्माणमा सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने संकेत देखिएको बताए। सरकार र सबै राजनीतिक दलले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै देशलाई द्वन्द्वबाट जोगाउन साझा प्रयास गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष घिसिङले जनताले दुईतिहाइ बहुमतसहित विश्वास गरेर पठाएको सरकारले नागरिकका अपेक्षा, माग र आकांक्षालाई सम्बोधन गर्न नसकेको आरोप लगाए। पछिल्लो तीन–चार महिनामा पाँच जना नेपाली नागरिक आत्मदाह गर्न बाध्य भएको घटनाले देशको अवस्था गम्भीर बन्दै गएको संकेत गरेको उनको भनाइ थियो।
उनले सरकारलाई जनविश्वास कायम राख्ने गरी प्रभावकारी काम गर्न आग्रह गर्दै जनताका समस्या समाधानमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।












