मास्टर्नी’को प्रमोसन गीत विवादमा दुर्गेश थापा: “शब्द होइन, बुझाइ गलत भयो”
काठमाडौं।चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतलाई लिएर विवाद चर्किएको छ। गीत तथा भिडियोले शिक्षिकाको मर्यादामा आँच पुर्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाउँदै गीत हटाउन माग गरेको छ।
विवादपछि गीतका सर्जक तथा गायक दुर्गेश थापाले आफ्नो उद्देश्य कुनै समुदाय वा पेशाको अपमान गर्ने नभएको स्पष्ट पारेका छन्। उनले गीतमा प्रयोग गरिएको “म्याथ सिक्ने” भन्ने शब्दलाई गलत अर्थमा व्याख्या गरिएको दाबी गर्दै यो केवल मनोरञ्जन र चलचित्रको प्रचारका लागि तयार गरिएको सामग्री भएको बताएका छन्।
“हामीले विवाद सिर्जना गर्न खोजेका होइनौं। यो गीत मनोरञ्जनका लागि बनाइएको हो र चलचित्रप्रति दर्शकको ध्यान आकर्षित गर्ने उद्देश्य मात्र हो,” दुर्गेशले बताएका छन्।
यता, नेपाल शिक्षक महासंघले भने गीत र भिडियोले शिक्षण पेशा तथा शिक्षिकाको गरिमामा नकारात्मक असर पार्ने भन्दै सम्बन्धित पक्षसँग तत्काल गीत हटाउन माग गरेको छ।
विवादसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। एकथरीले गीतलाई मनोरञ्जनका रूपमा लिनुपर्ने तर्क गरेका छन् भने अर्काथरीले शिक्षण पेशाको सम्मानलाई ध्यानमा राख्दै यस्ता सामग्री निर्माण गर्दा थप संवेदनशील हुनुपर्ने बताएका छन्।
यस विषयमा चलचित्र निर्माण टोली, कलाकार तथा शिक्षक संगठनबीचको धारणा सार्वजनिक भइरहेका छन् भने विवादले ‘मास्टर्नी’ चलचित्रको प्रमोसनलाई थप चर्चामा ल्याएको छ।












