बढेको पुँजीगत लाभकरबारे सरकारको स्पष्टिकरण :अफवाहमा नलाग्न लगानीकर्तालाई आग्रह
काठमाडौं।नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै आजदेखि सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर बढेपछि लगानीकर्तामा देखिएको चासो र असन्तुष्टिबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले स्पष्टिकरण दिएको छ।
सचिवालयले विज्ञप्ति जारी गर्दै सेयर बजारका लगानीकर्तालाई सामाजिक सञ्जाल तथा अनौपचारिक माध्यमबाट फैलाइएका अफवाह र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको हो। सरकारले बजारमा देखिएको निराशा र लगानीकर्ताको आक्रोशलाई स्वाभाविक रूपमा लिएको उल्लेख गर्दै अर्थतन्त्रका प्रमुख सूचकहरू सुधारोन्मुख रहेको दाबी गरेको छ।
विज्ञप्तिअनुसार बजारमा पर्याप्त तरलता, घट्दो ब्याजदर, आयकर छुट तथा राजस्व विवाद समाधानका विशेष व्यवस्थाले लगानीमैत्री वातावरण सिर्जना भएको सरकारको भनाइ छ।
सचिवालयले सेयर बजारमा गलत सूचना फैलाएर अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको जनाएको छ। कुनै व्यक्ति वा समूहलाई पक्राउ गर्न लागिएको भन्ने हल्लामा सत्यता नभएको पनि स्पष्ट पारेको छ।
क्लबहाउस, ह्वाट्सएप, म्यासेन्जर समूह तथा अनधिकृत स्रोतलाई आधिकारिक सूचना नमान्न आग्रह गर्दै सरकारले लगानीकर्तालाई पर्याप्त अध्ययन र विश्लेषणपछि मात्रै दोस्रो बजारमा लगानी गर्न सुझाव दिएको छ।
सरकारले स्थिर राजनीतिक वातावरण, विज्ञ नेतृत्व र नियामक निकायमा पारदर्शी व्यक्तिको नियुक्तिमार्फत सेयर बजार सुधारका योजनाबद्ध प्रयास अघि बढिरहेको दाबी गरेको छ।












