सर्वोच्चको अर्को अन्तरिम आदेश :सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न निर्देशन
काठमाडौं।सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सबै कामकारबाही तत्काल रोक्न पुनः अन्तरिम आदेश जारी गरेको छ।
यसअघि गत शुक्रबार सर्वोच्च अदालतले आयोगका कामकारबाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले सोमबार सूचना जारी गर्दै पूर्वन्यायाधीश, पूर्वसैन्याधिकारी तथा संवैधानिक आयोगका पूर्वपदाधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिनको काम भने निरन्तर रहने जनाएको थियो।
आयोगको उक्त सूचना अदालतको आदेशविपरीत भएको भन्दै अधिवक्ता मनीराम उपाध्यायले अदालतको अवहेलनासम्बन्धी रिट दायर गरेका थिए।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगले जारी गरेको “अन्य काम जारी रहने” सूचनासमेत कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अदालतले आयोगका सबै कामकारबाही अर्को आदेश नभएसम्म रोक्न स्पष्ट निर्देशन दिएको छ।












