वर्षा र पहिरोको जोखिमले उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
काठमाडौं।लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाका बन्द गरिएपछि नागढुंगा चेकपोस्टमा सयौं सवारी साधन रोकिएका छन्।
प्रहरीका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधनलाई बसपार्क, चेकपोस्ट तथा अन्य सुरक्षित स्थानमै होल्ड गरिएको छ। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै अर्को सूचना नआएसम्म सवारी आवागमन रोकिएको हो।


यसअघि सोमबार रातिदेखि नै वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको थियो। मंगलबार बिहान पनि सडकको अवस्था सुरक्षित नभएकाले कुनै पनि लामो दूरीका सवारी साधन गन्तव्यतर्फ पठाइएको छैन।
निरन्तर वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो, लेदो र ढुंगा खस्ने जोखिम कायमै रहेकाले ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।












