समुदाय–प्रहरी सहकार्य सुदृढ बनाउन ललितपुर–१४ मा अन्तरक्रिया, महिला–बालबालिका सुरक्षामा जोड – Sagarmathapana:: Online News Portal

समुदाय–प्रहरी सहकार्य सुदृढ बनाउन ललितपुर–१४ मा अन्तरक्रिया, महिला–बालबालिका सुरक्षामा जोड

   २०८३ असार ३० गते  

ललितपुर।ललितपुर महानगरपालिका–१४ मा समुदाय र प्रहरीबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

ललितपुर–१४ स्थित सामुदायिक विकास केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष अमृतजंग महतको सभापतित्व तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (AIG) गोविन्द थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा क्षेत्रमा देखिएका सुरक्षा, सामाजिक तथा विकाससँग सम्बन्धित विभिन्न विषयमा स्थानीय बासिन्दा, प्रहरी र सरोकारवालाबीच खुला छलफल गरिएको थियो।

ललितपुर–१४ मा समुदाय–प्रहरी सहकार्यबारे छलफल, लागूऔषध नियन्त्रणदेखि महिला–बालबालिका सुरक्षासम्म विशेष अभियान सञ्चालन हुने

प्रमुख अतिथि थापाले प्रहरीले कानुनबमोजिम कुनै पनि अपराधको सूक्ष्म अध्ययन तथा अनुसन्धान गरी निष्पक्ष कारबाही गर्नुपर्ने र सबै नागरिकसँग नम्र व्यवहार गर्दै कानुन कार्यान्वयनमा दृढ रहनुपर्ने सुझाव दिएका थिए।

प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वकिलबहादुर सिंहले नागरिक सुनुवाइमार्फत आफ्नो ५२ दिनको कार्यसम्पादन सार्वजनिक गर्दै आगामी दिनमा वडा–१४ का ३२ वटा टोलमा महिला, बालबालिका, ज्येष्ठ नागरिकको सुरक्षा, लागूऔषध दुरुपयोग, चोरी नियन्त्रण, प्रदूषण नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरणलगायत विषयमा नियमित छलफल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। इच्छुक नागरिकलाई विशेष प्रशिक्षणसमेत प्रदान गर्ने योजना रहेको उनले बताए।


कार्यक्रममा ललितपुर महानगरपालिका–१४ क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, महिला समूह, टोल सुधार समितिका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा तिखेदेवल, थसिखेल, ताल्छीखेल र विशालचोक मार्ग क्षेत्रमा लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणसम्बन्धी जनचेतनामूलक छलफलसमेत गरिएको थियो।

कार्यक्रम ललितपुर महानगरपालिका–१४ वडा कार्यालय, प्रहरी वृत्त सातदोबाटो, सामुदायिक विकास केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल, ललितपुरको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र, तिखे देवलकी प्रमुख फूलकुमारी पौडेलले गर्नुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै