बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकियो, यात्रुलाई सतर्क रहन आग्रह
काठमाडौं।काभ्रेपलाञ्चोकको रोशी खोला जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित बाढी तथा जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी खोलामा पानीको बहाव बढ्न सक्ने जोखिम देखिएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकता दिँदै राजमार्गमा आवागमन ‘होल्ड’ गरिएको हो।
प्रहरीले हालसम्म सडकमा थप अवरोध नरहेको जनाएको छ। आवश्यक प्राविधिक निरीक्षण र मौसमको अवस्थाको मूल्याङ्कनपछि अर्को सूचना जारी गर्दै यातायात सञ्चालन गरिने बताइएको छ।
यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले सबै यात्रुलाई अनुरोध गरेको छ। साथै, मौसम प्रतिकूल रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न र सम्बन्धित निकायको सूचनालाई निरन्तर पछ्याउन पनि आग्रह गरिएको छ।












