दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त – Sagarmathapana:: Online News Portal

दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त

   २०८३ असार ३० गते  

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार दुवैलाई सम्बन्धित संस्थाको नेतृत्वको जिम्मेवारी दिइएको हो।

नवनियुक्त अध्यक्षद्वयले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले नियुक्तिपछि पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

नियुक्तिपत्र हस्तान्तरण गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षबाट निष्पक्ष, पारदर्शी र परिणाममुखी नेतृत्वको अपेक्षा रहेको बताए। उनले नियामक निकायहरूले कानुनको दायराभित्र रही नागरिकको हितलाई केन्द्रमा राखेर प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रमा बढ्दो गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको नियन्त्रणमा प्रेस काउन्सिलले सक्रिय भूमिका खेल्नुपर्ने बताए। साथै मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकमाथिको छलफल अघि बढिसकेको जानकारी दिँदै सञ्चार क्षेत्रलाई थप जिम्मेवार र व्यवस्थित बनाउन आवश्यक कानुनी सुधार गरिने उल्लेख गरे।

दूरसञ्चार क्षेत्रका समस्या समाधान, सेवाको गुणस्तर सुधार र नागरिकको हितलाई प्राथमिकतामा राख्दै निष्पक्ष रूपमा काम गर्न सञ्चारमन्त्रीले दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्। उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना तयार गरी प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन पनि आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै