महिला पर्वतीय गाइड उत्पादनमा GIA को पहल, १५ महिलाले चुमे लोबुचे शिखर
काठमाडौं-ग्लोबल इन्क्लुसिभ एडभेन्चर अर्गनाइजेसन (GIA) अन्तर्गतको ‘फिमेल लिडरसिप एकेडेमी’ ले सञ्चालन गरेको पर्वत नेतृत्व तालिमअन्तर्गत १५ सदस्यीय महिला टोलीले ६,११९ मिटर अग्लो लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ।
अनुभवी महिला आरोहण नेतृ फुर डिकी शेर्पाको नेतृत्वमा भएको अभियानमा १२ जना प्रशिक्षार्थी, दुई जना सहायक महिला गाइड मनमाया तामाङ र सङ्गीता तामाङ सहभागी थिए। टोलीमा लाक्पा वाङ्छु शेर्पा एकमात्र पुरुष क्लाइम्बिङ गाइडका रूपमा संलग्न थिए। टोलीले गत जुलाई २ मा सफलतापूर्वक शिखर चुमेको हो।


बुधबार बौद्धस्थित उत्पला क्याफेमा आयोजित कार्यक्रममा लोबुचे अभियानका सहभागी तथा नेपाल पर्वतारोहण सङ्घ (NMA) को आयोजनामा जुन २२ देखि जुलाई ६ सम्म सञ्चालन भएको ‘फन्डामेन्टल्स अफ माउन्टेनियरिङ’ तालिम सफलतापूर्वक पूरा गरेका १० जना महिलालाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा NMA का अध्यक्ष फुर गेल्जे शेर्पाले प्रमाणपत्र हस्तान्तरण गरे।
१५ महिलाले लोबुचे हिमाल सफल आरोहण, महिला पर्वत नेतृत्व विकासमा नयाँ उपलब्धि
कार्यक्रममा अध्यक्ष शेर्पाले पर्वतारोहण क्षेत्रमा प्रवेश गर्न चाहने महिलाहरूका लागि अहिले अवसर विस्तार हुँदै गएको उल्लेख गर्दै भविष्यमा पनि NMA ले तालिम र सहयोगलाई निरन्तरता दिने बताए।


अभियानमा सहभागी सिर्जना तामाङले लामो समयदेखिको ६ हजार मिटरभन्दा माथिको हिमाल चढ्ने सपना GIA ले पूरा गरिदिएको बताइन्। अर्की सहभागी कृतिका प्रजुलीले अनुभवी गाइडहरूको मार्गदर्शनबिनै लोबुचेको सफल आरोहण सम्भव नहुने भन्दै GIA प्रति आभार व्यक्त गरिन्।
कञ्चन परियारले आफू भविष्यमा पर्वतीय गाइड बन्ने लक्ष्यसहित अघि बढिरहेको बताउँदै प्रतिकूल मौसमका बाबजुद टोलीले सुरक्षित रूपमा शिखर चुम्न सफल भएको अनुभव सुनाइन्।
GIA की महासचिव तथा फिमेल लिडरसिप एकेडेमीकी सह-नेतृ शैली बस्नेतले नेपालमा महिला पर्वतीय गाइडको संख्या अझै न्यून रहेकाले महिलालाई नेतृत्व, रोजगारी र व्यावसायिक अवसरसँग जोड्ने उद्देश्यले संस्था विगत चार वर्षदेखि सक्रिय रहेको जानकारी दिइन्। उनका अनुसार हालसम्म १०० भन्दा बढी महिलाले पर्वतारोहण, ट्रेकिङ, आउटडोर गतिविधि तथा पर्यटनसँग सम्बन्धित विभिन्न तालिमबाट लाभ लिएका छन्।
अभियानकी नेतृ फुर डिकी शेर्पाले युवा महिलालाई पर्वतीय गाइडका रूपमा करियर बनाउन प्रेरित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै नेपालमा महिला गाइडको सहभागिता बढाउन थप तालिम, अवसर र व्यवहारिक अनुभव आवश्यक रहेको उल्लेख गरिन्।
GIA ले यसअघि सन् २०२५ मा पाल्दोर हिमालको सफल महिला अभियान सञ्चालन गरिसकेको थियो भने फुर डिकी शेर्पाले लोबुचे, पाल्दोर र हिमलुङ हिमालमा समेत महिला टोलीको सफल नेतृत्व गरिसकेकी छन्।














