हङकङमा प्रथम किरात राई भाषा महोत्सव सम्पन्न, मातृभाषा संरक्षणमा प्रवासी समुदायको प्रतिबद्धता
हङकङ।किरात राई यायोक्खा हङकङको आयोजनामा हङकङको कि लुन चुङ, सान्तिनस्थित ‘सुप्तुलुङखिम’ (चुलाघर) मा प्रथम किरात राई भाषा महोत्सव–२०२६ सम्पन्न भएको छ।
हङकङमा बसोबास गर्ने किरात राई समुदायका विभिन्न मातृभाषाको संरक्षण, संवर्द्धन र पुनरुत्थान गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चाम्लिङ, दुमी, साम्पाङ, बान्तवा, पुमा, थुलुङ, बायुङ तथा कोयी–कोयु समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


किरात राई यायोक्खा हङकङका अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक, संस्थापक, विभिन्न भाषिक संस्थाका प्रतिनिधि तथा किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशि मदन राईलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। महासचिव राजेन्द्र राईले सञ्चालन गरेको कार्यक्रममा १८ वर्षमुनिका बालबालिकादेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसम्मको सहभागिताले भाषा संरक्षणमा पुस्तान्तरणको महत्त्वलाई उजागर गरेको आयोजकले जनाएको छ।

महोत्सवमा बान्तवा, कोयी–कोयु, साम्पाङ र चाम्लिङ भाषामा कविता वाचन तथा साहित्यिक प्रस्तुति गरिएको थियो। वक्ताहरूले मातृभाषा समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार भएकाले यसको संरक्षणमा सबै पुस्ताको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।
आयोजकका अनुसार महोत्सवले अन्तर्राष्ट्रिय मातृभाषा दिवस को भावनालाई आत्मसात गर्दै प्रवासी किरात राई समुदायको भाषा संरक्षण अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। अध्यक्ष गजेन्द्र राईले यस्ता कार्यक्रमले हङकङमा रहेका किरात राई भाषाहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्दै नयाँ पुस्तामा मातृभाषाप्रतिको अपनत्व बढाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।












